काँग्रेसभित्र के भयो ? के हुँदै छ ?
नेपाली काँग्रेसमा विशेष महाधिवेशन पक्षधर र संस्थापन पक्षबीचको विवाद समाधानका लागि दुवै पक्षले गठन गरेको वार्ता समिति दोस्रो चरणको छलफलमा जुटेको छ। बिहानैदेखि भृकुटीमण्डपमा विशेष महाधिवेशनको बन्दसत्र र वार्ता समितिबीचको छलफल एकसाथ अघि बढाइएको थियो ।
दुवै पक्षबीच एकता र मेलमिलाप गराउन पार्टी सभापति शेरबहादुर देउवा नेतृत्वको संस्थापन समूह, नेता डा. शेखर कोइराला नेतृत्वको इतर समूह र महामन्त्री गगन–विश्व पक्षबाट वार्ता समिति बनाइयो । त्रिपक्षीय छलफलअघि पूर्णबहादुरसहितका शीर्ष नेताहरू छुट्टै छलफलमा जुटे । उनीहरूले पार्टी केन्द्रीय कार्यालय सानेपामा अलग्गै छलफल गरे । शीर्ष छलफलमा कार्यवाहक सभापति खड्कासहित उपसभापति धनराज गुरुङ, नेताहरू शेखर कोइराला र विमलेन्द्र निधि सहभागी थिए ।
काँग्रेसको विवाद मिलाउने प्रयासस्वरूप विशेष महाधिवेशन पक्षधर र सभापति शेरबहादुर देउवा पक्षधरबीचको वार्ता टोलीबीच पुनः दोस्रो चरणको वार्ता चलिरहेको छ। बिहान वार्ता भए पनि ठोस निष्कर्ष ननिस्किएपछि पुनः वार्तामा बस्नुपरेको दुबै पक्षको भनाइ छ ।
यता भृकुटीमण्डपमा भने नीति र नेतृत्व परिवर्तन गर्नुपर्ने मागसहित महाधिवेशन प्रतिनिधिहरूले नाराबाजी गरिरहेका छन्। उनीहरूले विशेष महाधिवेशन शतप्रतिशतका लागि भएको बताउँदै ४० प्रतिशत भाग खोज्न नभएको दाबी गर्दै आएका छन्। यसबीच संस्थापन पक्षधर नेताहरूले ४० प्रतिशत भाग खोज्न विशेष महाधिवेशन गरिएको अफवाह फैलाएको महामन्त्रीद्वय निकटस्थहरुको आरोप छ ।
गगन–विश्व पक्षबाट वार्तामा पुगेको टोलीलाई नेतृत्व परिवर्तनका लागि स्पष्ट निचोड निकाल्न र पदको भागबण्डा नगर्न महाधिवेशन प्रतिनिधिहरूले चेतावनी दिँदै आएका छन्। मेलमिलाप र एकताका लागि वार्ता चलिरहेकै बेला विशेष महाधिवेशनमा उम्मेदवारी मनोनयन दर्ताको समय थप गरिएको छ।
केन्द्रीय निर्वाचन समिति संयोजक सीताराम के.सी.ले उम्मेदवारको मनोनयन दर्ताको समय साँझ साढे ६ बजेदेखि साढे ७ बजेसम्म थपेका हुन् । यसअघि साँझ ५ बजेसम्मको समय तोकिएको थियो। नेतृत्व चयनका लागि उम्मेदवारी दर्ताको क्रम जारी छ। सभापतिसहित पदाधिकारीका लागि ३० वटा मनोनयनपत्र वितरण गरिएको छ ।
संस्थापन पक्षले विशेष महाधिवेशनलाई अवैधानिक बताउँदै आएको छ। तर महामन्त्रीद्वय पक्षले भने नयाँ नेतृत्वका लागि निर्वाचन कार्यतालिका सार्वजनिक गर्दै तीव्र रूपमा प्रक्रिया अघि बढाएको छ। भृकुटीमण्डपमा नयाँ नेतृत्व चयन गर्ने प्रक्रिया अघि बढेपछि सुरक्षा तैनाथी कडा पारिएको छ। नयाँ कार्यसमिति चयनका लागि आज राति ९ बजेदेखि मतदान हुने जनाइएको थियो । तर, भर्खरै भोलि बिहानलाई सारिएको जानकारी दिइएको छ ।
डेमोक्रेटिक लयर्स एसोसिएसनका अध्यक्ष के.सी.को संयोजकत्वमा रहेको निर्वाचन समितिले १४औँ महाधिवेशनमा प्रतिनिधि रहेका सबैको नामावली सार्वजनिक गरेको छ। सोही सूचीका आधारमा मतदान प्रक्रिया अघि बढाइने कार्यक्रम छ ।
मतदाता नामावली प्रकाशन, मतदान, मतगणना तथा मतपरिणाम घोषणासम्मको कार्यतालिका सार्वजनिक भइसकेको छ। जसअनुसार सभापति पदका लागि उम्मेदवारी दर्ता गर्न ३० हजार, उपसभापति र महामन्त्री पदका लागि २५ हजार तथा सहमहामन्त्री पदका लागि २० हजार रुपैयाँ शुल्क तोकिएको छ।
यसबीच प्रचार समितिका संयोजक सुभाष पोखरेलले नयाँ नीति र नेतृत्व चयन नगरी आफूहरू हलबाट बाहिर ननिस्कने बताएका छन्। संस्थापन पक्ष आफ्ना मागप्रति लचिलो नबनेपछि बाध्य भएर निर्वाचन प्रक्रिया सुरु गरिएको पोखरेलको भनाइ छ। आयोजकले निर्वाचन प्रक्रियामा सहभागी हुन र सभापति पदका लागि मनोनयन दर्ता गर्न वर्तमान सभापति शेरबहादुर देउवालाई समेत निमन्त्रणा पठाएका छन्।
विशेष महाधिवेशन पुरानै विधानअनुसार हुने जनाइएको छ। हिजोको बन्दसत्रमा महामन्त्री विश्वप्रकाश शर्माले विधान संशोधनको प्रस्ताव पेस गरेका थिए। उक्त प्रस्ताव बन्दसत्रबाट पारित नभएकाले पुरानै विधानअनुसार निर्वाचन प्रक्रिया अघि बढाइएको हो। पुरानै विधानअनुसार निर्वाचन हुँदा १३३ सदस्यीय कार्यसमिति निर्वाचित हुनेछ। जसअनुसार नवनिर्वाचित सभापतिले ३३ जना सदस्य मनोनयन गर्न पाउनेछन्। सभापतिका निकटतम प्रतिद्वन्द्वी स्वतः केन्द्रीय सदस्य हुने व्यवस्था पनि विधानमा छ।
मध्यमार्गी नेताहरूले पार्टीभित्रको आन्तरिक विवाद र मतभेदलाई संवादमार्फत टुंग्याउन दबाब दिइरहेका छन्। कांग्रेस गम्भीर संकटको मोडमा रहेकाले यसलाई बचाउन संस्थापन पक्षले नेतृत्व हस्तान्तरणका लागि तत्परता देखाउनुपर्ने उनीहरूको भनाइ छ। ५४ प्रतिशत महाधिवेशन प्रतिनिधिको हस्ताक्षरसहित विशेष महाधिवेशन माग गर्दा पनि केन्द्रीय समितिमा बहुमतको नाममा संस्थापन पक्षले अस्वीकार गर्दै आएको उनीहरूको आरोप छ।
मध्यमार्गी धारको नेतृत्व नेता शेखर कोइरालाले गरिरहेका छन्। उनीहरूले पार्टी एकता जोगाउन सभापति देउवालाई नेतृत्व हस्तान्तरणका लागि तयार रहन दबाब दिइरहेका छन्। भृकुटीमण्डपमा हालका महामन्त्री गगन थापालाई सभापति घोषणा गर्न माग गर्दै नाराबाजीसमेत चलिरहेको छ।
आज दिउँसो कांग्रेसको संस्थापन पक्षका वार्ता टोलीका सदस्यहरू पार्टी सभापति देउवाको निवास महाराजगञ्ज पुगेर पहिलो चरणको वार्ताको प्रगतिबारे जानकारी गराएका थिए। देउवापक्षीय वार्ता टोली सदस्यहरूले विशेष महाधिवेशन पक्षधर आफ्ना मागमा नझुकेको जानकारी देउवालाई गराएका थिए।
यसबीच विशेष महाधिवेशनको बन्दसत्रमा गण्डकी प्रदेश सभापति शुक्रराज शर्माले २०६३ सालको लोकतान्त्रिक आन्दोलनपछि अङ्गीकार गरिएको गणतन्त्र र धर्मनिरपेक्षता धोका भएको जिकिर गर्दै राजसंस्थासहितको अवस्थामा फर्कनुपर्ने प्रस्ताव बन्दसत्रमा राखेका छन्। मुलुक अहिले ‘जेन–जी’ आन्दोलनपछि संकटको भुमरीमा फसेको दाबी शर्माको छ। उनको प्रस्ताव ‘नेपाल अधिराज्यको संविधान, २०४७’ वरपर केन्द्रित देखिन्छ ।
टिप्पणीहरू