ओली उठ्ने ठाउँको नालिबेली

ओली उठ्ने ठाउँको नालिबेली

गत आम चुनावमा धकेलिएका अग्नि खरेलको नाम फेरि झापा– २ बाट सिफारिस भएपछि देवराज घिमिरेलाई सभामुख पद हात पर्‍यो । तत्कालीन स्वतन्त्र उम्मेदवार भद्रप्रसाद उर्फ स्वागत नेपालसँग २ हजार मतको अन्तरले जितेका सभामुखले अब के गर्लान् भन्न सकिने अवस्था छैन । तैपनि, खरेल र घिमिरेको आँखा यतैतिर छ । आफ्नो भागमा परिसकेको सांसद पद धकेलिएपछि खरेल ओलीसँग रुष्ट थिए तर बालुवाटारमा बस्ने वातावरण पाएपछि केही हदसम्म मन शान्त त भयो । यद्यपि अब झापा– २ बाट उठ्ने चाहना पूरा हुने हो कि नहुने हो त्यो भने हेर्न बाँकी छ ।

जेनजी आन्दोलनपछि ४ महिनासम्म स्थानहद खेपेका केपी ओलीलाई कार्यकर्ताले झापा ५ बाट फेरि एकल सिफारिस गरेका छन् । त्यहाँका २ वटा चुनावमा राप्रपासँग तालमेल भएको थियो । अब भने सहज छैन । उता क्षेत्र नं. ३ मा राप्रपा अध्यक्ष राजेन्द्र लिङदेनले ओलीसँग मिलेर जितेका हुन् । यसपटक कोसँग मिल्लान् ? यो प्रश्न पनि अनुत्तरित नै छ । कांग्रेस र एमालेबीच चुनावी तालमेल भएमा कृष्ण सिटौला नै उठ्नेछन् । तर पटकपटक हलोमा भोट हाल्नु परेको एमालेजनको पीडा भयानक छ । त्यही भएर यसपटक त्यहाँका एमालेजनले तालमेल नगर्ने मत जाहेर गरिरहेका छन् । 

त्यसो भएमा त्यहाँबाट पञ्चायतकालीन माननीय द्रोणाचार्य क्षेत्रीका छोरा देवेन्द्रको नाम अगाडि आएको छ । संकट एमालेलाई मात्र छैन, कांग्रेस पनि भयानक अफ्ठ्यारोमा छ । झापा २ मै कांग्रेसबाट उठ्ने हेभिवेट उम्मेदवार छैन । झापा ५ मा त यो समस्या पुरानै हो । उता झापा ४ मा फेरि एलपी साँवा नै उठ्ने गरी लागेका छन् भने १ नं क्षेत्रबाट रामचन्द्र उप्रेतीको नाम पक्का जस्तै छ । तर उनीमाथि विगतमा अग्नि खरेल र रवीन कोइरालालाई असहयोग गरेको आरोप पखालिएको छैन । त्यहाँबाट कांग्रेस महामन्त्री विश्वप्रकाश शर्मा उठेनन् भने फरक परिणाम आउन सक्ने आँकलन गर्न सकिन्छ । पुराना दलहरूको कथासँगै नयाँहरूको चर्चा पनि चुलिएको छ । रास्वपाबाट निवर्तमान उपसभामुख इन्दिरा राना उठ्ने होे भने रास्वपालाई परिणाम निकाल्न सहज हुने आकलन छ । यद्यपि, त्यहाँबाट निशा डाँगीलाई उठाउने चर्चा पनि व्यापक छ । 

मधेसमा एमालेको सांगठनिक अवस्था फेरिएको छ । हालै सम्पन्न महाधिवेशनबाट केन्द्रीय नेतृत्वमा आउनेको उल्लेख्य संख्या गैर–कम्युनिष्ट वा एमाले पृष्ठभूमिबाहिरको रहेको पाइएको छ । पर्साबाट ल्याइएका तीन जनामध्ये विजय सरावगी वामपन्थी पृष्ठभूमिका होइनन् । यसअघि फोरममा थिए । बाराबाट केन्द्रीय सदस्य बनेका सात जनामध्ये दुई जना माओवादी पृष्ठभूमिका छन् । रौतहटका चारै केन्द्रीय सदस्य फरक–फरक पृष्ठभूमिका छन्, जसमा हालै पार्टी प्रवेश गरेका व्यक्तिसमेत छन् । 

उता, गत शनिबार बारामा सम्पन्न आन्तरिक निर्वाचनमा क्षेत्रीय कमिटीले ईश्वर पोखरेलनिकट नेतालाई अघि सारेको छ ।

(जनआस्था साप्ताहिकको पुस २३ गते बुधबारको अंकमा प्रकाशित)  

 

टिप्पणीहरू