क्याबिनेटका डेढ दर्जन निर्णय, आधा दर्जनबढी विदेश भ्रमण
क्याबिनेटको पछिल्लो निर्णयमा पनि उच्च पदस्थ सरकारी अधिकारीहरुको विदेश भ्रमणले निरन्तरता पाएको छ । हिजो बसेको क्याबिनेटले डेढ दर्जन निर्णय गरेकोमा सात वटा विदेश भ्रमण स्वीकृतिसम्बन्धी छन् ।
क्याबिनेटले अर्थसचिव भूपाल बरालको मेक्सिको भ्रमण स्वीकृत गरेको छ । आउँदो माघ २६ गतेदेखि फागुन १ गतेसम्म हुन लागेको एक कार्यक्रममा सहभागी हुन उनलाई अनुमति दिइएको हो । यस्तै, उद्योग, वाणिज्य तथा आपूर्तिसचिव डा.रामप्रसाद घिमिरेलाई पनि चीन भ्रमणका निम्ति स्वीकृति प्रदान गरिएको छ ।
उनी नेतृत्वको प्रतिनिधिमण्डल आउँदो माघ ६ र ७ गते सिजाङ्गमा हुने एक बैठकमा सहभागी हुन जाँदैछ । माघ २६ गतेदेखि २८ गतेसम्म इटलीको रोममा आयोजना हुने एक कार्यक्रममा सहभागी हुन कृषि तथा पशुपन्छी विकासमन्त्री डा.मदनप्रसाद परियारलाई अनुमति दिइएको छ ।
म्यानमारमा जारी तेस्रो चरणको निर्वाचनमा अन्तर्राष्ट्रिय निर्वाचन पर्यवेक्षकको रुपमा माघ ९ गतेदेखि १२ गतेसम्म सहभागी हुन निर्वाचन आयुक्त डा.जानकीकुमारी तुलाधारलाई स्वीकृति प्रदान गरिएको छ ।
यस्तै, माघ २८ गतेदेखि फागुन १ गतेसम्म मोरक्कोको माराकेशमा आयोजना हुने कार्यक्रममा सहभागी हुन श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका सचिव डा.दिपक काफ्लेलाई सहमति दिने निर्णय क्याबिनेटले गरेको छ ।
स्पेनको म्याड्रिडमा माघ ६ गतेदेखि १२ गतेसम्म आयोजना हुने अन्तर्राष्ट्रिय पर्यटन मेलामा सहभागी हुन संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री मुकुन्द्रसाद निरौलालाई अनुमति दिइएको छ ।
माघ १९ गतेदेखि २४ गतेसम्म स्वीट्जरल्याण्डको जेनेभामा आयोजना हुने विश्व स्वास्थ्य संगठनको १५९ औं सेसन अफ द एक्जिक्युटिभ बोर्डमा सहभागी हुन स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सचिव ढा.विकास देवकोटालाई स्वीकृति दिने पनि क्याबिनेट निर्णय छ ।
टिप्पणीहरू