गगन-विश्वलाई अन्यथा निर्णय नगर्न देउवाको चेतावनी
नेपाली काँग्रेसले महामन्त्रीद्वय गगनकुमार थापा र विश्वप्रकाश शर्मालाई पार्टीको निर्णयविरुद्ध कुनै पनि कदम नचाल्न चेतावनी दिएको छ ।
प्रवक्ता डा. प्रकाशशरण महतले पार्टीलाई एकतावद्ध बनाएर लैजाने विभिन्न चरणमा छलफल भैरहेको बताउँदै अन्यथा निर्णय नगर्न आग्रहसहितको चेतावनी दिएका हुन् । महामन्त्रीद्वयले केन्द्रीय समितिको निर्णय नमाने अन्य निर्णय लिन बाध्य हुने उनले स्पष्ट पारे।
वार्ता र संवादबाट नै सहमति खोज्नका लागि संस्थापन पक्षले अधिक लचकता देखाइरहेको उल्लेख गर्दै महतले सम्पूर्ण पार्टी पंक्ति एक भएर निर्वाचनमा जानुपर्नेमा जोड दिएका छन् । अहिले विभाजन र विग्रहतर्फ उन्मुख हुने बेला नभएको उनले बताए ।
'समग्र पार्टीलाई जोडेर हामी आमनिर्वाचनमा जाऔँ । सबै एकजुट भएपछि पार्टीको पक्षमा राम्रो परिणाम आउँछ । त्यसपछि पार्टीको नियमित अधिवेशनबाट नयाँ नेतृत्व आउँछ', नेतृत्वको लचकतालाई कमजोरी नठान्न घुमाउरो चेतावनी दिँदै महतले भने, 'अब विग्रहको बाटोमा जानुहुन्न । स्वभाविक, मजुबत गर्ने विषयलाई पार्टी केन्द्रीय समितिले समावेश गरेर अघि बढ्नसक्छ । राति बेलुकासम्म पनि समझदारी बन्छ भने अन्यथा निर्णयमा किन जाने भन्ने नेतृत्वको लचकता रहेको छ ।'
कांग्रेसको विशेष महाधिवेशन पक्षधरले नयाँ नेतृत्व चयनका लागि प्रक्रिया अघि बढाइरहेका बेला संस्थापन खेमाले आज केन्द्रीय समितिको बैठक बोलाएको थियो । पार्टी मुख्यालय सानेपामा एकैछिन बसेको बैठक बुधवार बिहान पुनः बस्ने गरी स्थगित भएको छ ।
यता, दुबै पक्षले बनाएको वार्ता समितिमार्फत निरन्तर छलफल अघि बढाए पनि सहमति जुट्न सकेको छैन ।
टिप्पणीहरू