‘खोरमा थुन्दैमा बाघ स्याल हुँदैन’ भन्नेलाई जवाफ : भैंसीले हान्दा ठहरै हुने पो हो कि ?
स्वास्थ विज्ञानले भन्छ– मांशाहारी प्राणी अरुको तुलनामा आक्रामक हुन्छन् । त्यस प्रकारका प्राणीले सरदर आयुभन्दा चाँडो आफ्नो मृत्यु निम्त्याउँछन् ।
यसको उदाहरणको रुपमा बाघलाई लिन सकिन्छ । सर्वविदितै छ, बाघले घाँस खादैन । आफूभन्दा कमजोर प्राणीको हत्या गरेर आफ्नो आहारा बनाउने बाघ आक्रमणको क्रममा घाइते भएको तथा मृत्यु भएका धेरै घटना जीव विज्ञानले पुष्टि गरिसकेको छ । यद्यपि, बाघको मृत्यु हुनुको अन्य कारण पनि हुन्छ ।
बाघ बुढो हुँदै गएपछि शिकार गर्न सक्दैन र आहारा नपाएपछि मर्छ । त्यस्तै, कतिपय बाघहरु आफ्नै समूहमा झगडा गरेर मर्छन् । शिकार खोज्दै मानव बस्तीमा पसेको बाघ उल्टै मान्छेको शिकार हुने गरेको छ । नेपालकै सन्दर्भमा हेर्ने हो भने, मानिसमाथि आक्रममण गरेका ३० भन्दा बढी नरभक्षी बाघलाई बन्दुक हानेर मारिएको छ ।
अब लागौँ मूल प्रसंगतिर । सहकारी ठगीको आरोपमा पक्राउ परेका पूर्वगृहमन्त्री तथा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले हिजो आफूलाई बाघको संज्ञा दिए । सुप्रिम सहकारीको ठगी प्रकरणमा अनुसन्धान गर्न पोखराबाट रुपन्देही पुर्याइएका उनले जिल्ला सरकारी वकिलको कार्यालयको बार्दलीबाट हात हल्लाउँदै प्रहरी घेराबाट भने, ‘खोरमा थुन्दैमा बाघ स्याल हुँदैन ।’
रविले यसो भन्दै गर्दा वरपरका दुई–चार जना प्रहरी निकै मज्जाले हाँसे । उनीहरू बाघ सम्झेर हाँसे वा स्याल, त्यो उनीहरु नै जानुन् । तर, रविले आफूलाई स्वःघोषित बाघ ठानेपछि जनता पनि अचम्म मानेर हाँसेका हुन् ।
विशाल बज्राचार्यले ‘भैँसीले मार्नेवाला बाघ त हैन ?’ भनेर उडाएका छन् । रविको उक्त अभिव्यक्ति सेयर गर्दै भनिएको छ, ‘सहकारी जंगलको बाघ हो कि क्या हो ? बचतकर्ताको बचत आहारा बनाउने ! कि भैँसीले मारेको लुते बाघ हो ?’
सहकारी पीडितसमेत रहेकी विना ठकुरीले झन् बाघको पेट चिरेर भए पनि आफ्नो आहारा फर्काउने चेतावनी दिएकी छन् । भन्छिन्, ‘गरिब दुःखीको पैसा खाएर अघाएको एउटा बाघ बल्ल खोर जाँदैछ, अर्को बाघ (जिबी राई) कहाँ सुतेको छ ? हामीले पसिना बगाएर कमाएको पैसा त्यतिकै पचाउँछौ भनेर सोचेका होलान्, बाघको पेट चिरेर कसरी आहारा निकाल्नुपर्छ, हामीलाई राम्रोसँग थाहा छ ।’
त्यस्तै विवेक श्रेष्ठले स्वःघोषित बाघ रविलाई गधाको संज्ञा दिँदै लठ्ठीले हान्नुपर्ने बताएका छन् । ‘जनताको पैसा लुट्ने नि बाघ हुन्छ ? त्यो त गधा हो । लठ्ठी लठ्ठीले हान्नुपर्छ’, उनको आक्रोशपूर्ण प्रतिक्रियामा लेखिएको छ ।
लेखक मनोज विकल्पले भने रविलाई बाघ ठानेर गर्व नगर्न सुझाएका छन् । कलात्मक हिसाबले सम्झाएका छन्, ‘आफूलाई बाघ ठान्दा कत्रो गर्व महशुस हुन्छ है ! बाघको कथित विम्बमा नभुलौं । बाघ हिंस्रक हुन्छ । बाघसँग दीर्घकालीन योजना हुँदैन । बाघहरु आफैँ लडेर घाइते हुन्छन्, कतिपय त मर्छन् पनि । बाघहरु कमजोर प्राणीमाथि शोषण गर्छन् । आक्रमण गर्छन् । उनीहरु आहारा नभेटुन्जेल भौंतारिरहन्छन् । कुनै गन्तव्य हुँदैन । र, गन्तव्य नहुने प्राणीहरुको कुनै औचित्य हुँदैन ।’
टिप्पणीहरू