बयान दिएर फर्कनासाथ हाकिम बेहोस
चिन्ता ‘बूढी मरीभन्दा पनि काल पल्किएको’मा हो । बढुवाको मुखैमा आफ्नै सहकर्मीहरु लागेर कसरी सिध्याउँछन् ? उदाहरण खोज्न टाढा जानै पर्दैन, सहसचिव डण्डु घिमिरे नै काफी छन् । जीवनभर सुशासनको लागि लडेका पूर्व सचिव शरदचन्द्र पौडेल बढुवाको मुखैमा अख्तियार लाग्दा जसरी आत्महत्या गर्ने स्थितिमा पुगे, उस्तै स्थिति झेल्दैछन् सहसचिव घिमिरे ।
अकूत आर्जन गरेको भन्दै अख्तियारमा बेनामे उजुरी परेसँगै दशैं, तिहारको बिदा सकेर गत शुक्रवार उनलाई रातो घरले बयानका लागि बोलाएको थियो । बयान दिएर फर्किएलगत्तै प्रेसरले हानेर ढलेका उनी ललितपुर नक्खुस्थित मेडिसिटी अस्पतालको सघन उपचार कक्षमा उपचार गराउँदैछन् ।
घिमिरे बाबुराम अधिकारी, मदन भुजेल, चन्द्रकला पौडेल, शोभाकान्त पौडेल, भूपाल बरालसँगै सचिव हुने लाइनमा छन् । ५८ बर्षे उमेर हद कायम रहेमा अझै ३ वर्ष जागिर खान्छन् । ६० बनाइएको खण्डमा थप २ बर्ष जागिर खान पाउँछन् । उनीभन्दा कनिष्ठ खगेन्द्र सुवेदी, कृष्णप्रसाद काप्री, बैकुण्ठप्रसाद अर्याल, इमनारायण श्रेष्ठ र इन्दु घिमिरे हुन् ।
साढे तीन वर्षदेखि श्रम मन्त्रालय मातहत राखिएका उनलाई केही समय अगाडि वैदेशिक रोजगार विभागको महानिर्देशकबाट मन्त्रालयमा तानिएको छ । घिमिरे पैसाका लागि मरिमेट्ने कर्मचारी होइनन् । सँगै काम गरेका एक सहसचिवका अनुसार उनी पाउने सुविधासमेत नलिने कर्मचारीका रुपमा चिनिन्छन् । अधिकांश समय नरम कार्यालयको काम गरेका उनी केही समय पर्यटन विभाग र वैदेशिक रोजगार विभागमा रहेको र त्यहीबेला श्रीमती, सासू र सालीहरूको नाममा सम्पत्ति थुपारेको आरोप छ ।
दोलखाको एउटा सामान्य कृषक परिवारमा जन्मिएका घिमिरेले ललितपुर कुसुन्तीको आठ आना जग्गामा घर, मैतीदेवी, काठमाडौंको ४ आना जग्गामा ५ तल्ले पक्की घर बनाएसँगै सहकर्मीहरुले उनलाई अकुत आर्जनमा पोलेका हुन् । छोरा बंगलादेश र छोरीले लुम्बिनी मेडिकल कलेजमा एमबीबीएस अध्ययन गरिरहेका छन् । यद्यपि यी सबै श्रीसम्पत्ति पत्नी डा. अनिता भट्टराईबाट आर्जित हो भन्छन्,उनी निकटस्थहरु । अनिता नेपालकै ठूलो एनजिओकर्मीमध्येकी हुन् । नाइसर नामक कन्सल्टेन्सी एवं रिसर्च फर्ममा वल्र्ड बैंक, युएसएड, डिएफआइडी, युनिसेफ, सेभ द चिल्ड्रेन, वल्र्ड भिजनजस्ता वैदेशिक दातृ निकायबाट बिड हालेर प्रोजेक्ट ल्याउँछिन् ।
यही नाममा अहिले उनलाई अख्तियारले दागा धर्ने काम गरिरहेको बताइन्छ । थोरै दबाबमा पनि तनाव महसुस गर्ने स्वभावका डण्डु सोही कारण ढलेको छिमेकीहरु बताउँछन् । उसो त अख्तियारले मुद्दा चलाएका पूर्व मुख्यसचिव बैकुण्ठ अर्यालदेखि मधु मरासिनी, कृष्ण राउतसहित अध्यागमनका डिजी रुद्रमानसिंह तामाङ्गदेखि रितेश शाक्य र गोदावरीका एक अर्ब काण्डवाला मेयर गजेन्द्र महर्जनसम्मलाई विशेष अदालतले क्लिन चिट दिइसकेको छ ।
बढुवाकै मुखमा रहेका पर्यटनका अर्का सहसचिव बुद्धि लामिछानेमाथि अख्तियार लाग्दा उनी पनि निलम्बित छन् । विषय विज्ञता भएका अर्का सहसचिव नहुँदा पर्यटन मन्त्रालयको उक्त पद सात महिनादेखि रिक्त छ । टिप्पणी उठाएको र निर्णय प्रक्रियामा भाग लिएको भन्दै एकपछि अर्काे कर्मचारीलाई भ्रष्टाचारको मुद्दा चलाइँदा सिंहदरबारका अधिकांश कर्मचारीहरुले हिजोआज कलम चलाउनै छाडेका छन् ।
(साभार:जनआस्था-साप्ताहिकबाट)
टिप्पणीहरू