'उम्मेदवार अपहरण' को घटनामा कांग्रेसमाथि शंका गर्दै आयोगमा उजुरी

'उम्मेदवार अपहरण' को घटनामा कांग्रेसमाथि शंका गर्दै आयोगमा उजुरी

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले आफ्ना उम्मेदवारलाई धम्क्याइएको भन्दै निर्वाचन आयोगमा उजुरी हालेको छ । 

हुम्लाको सर्केगाड गाउँपालिमा उपाध्यक्षको उम्मेदवार बन्ने तयारीमा रहेकी सुजता थापालाई धाकधम्की देखाई उम्मेदवारी दर्ता गर्न नदिएको दाबीसहित कार्यवाहक महामन्त्री कविन्द्र बुर्लाकोटीले आयोगमा लिखित उजुरी दर्ता गराएका हुन् । उजुरीमा घटनामा संलग्नमाथि कारवाहीको माग गरिएको छ ।   

सुजता र उनका श्रीमानलाई हिजो दिउँसो ४०-४५ जनाको समूहले घरबाट लछारपछार गर्दै अपहरण शैलीमा अज्ञात स्थलतर्फ लगेको जनाउँदै निर्वाचन प्रचारमा खटिएका अन्य नेतामाथि कुटपिट भएको रास्वपाको दावी छ । 

‘यो कुरा थाहा भएलगत्तै हुम्लाका प्रमुख जिल्ला अधिकारी नारायण पाण्डेलाई जानकारी गराइयो’, उजुरीमा भनिएको छ, ‘प्रजिअलाई यसअघि पनि अन्य व्यक्तिले घटनाको सूचना दिएकोले आवश्यक खोजतसाल र उद्धारको लागि प्रहरी परिचालन गरिसकेको बताउनुभएको थियो ।’

मानसिक यातना र असुरक्षाको कारण सुजता उम्मेदवारी दर्ता गर्न नसक्ने मनस्थितिमा पुगेको रास्वपाको भनाई छ । घटनामा नेपाली कांग्रेसका सदस्यहरुको संलग्नताको सूचना प्राप्त भएको जनाइएको छ । 

‘उक्त निन्दनीय कार्यमा स्थानीय नेपाली कांग्रेसका सदस्यहरु संलग्न रहेको सूचना प्राप्त भएको छ’, उजुरीमा उल्लेख गरिएको छ । 

बुर्लाकोटीले घटनाप्रति ध्यानाकर्षण गराउँदै दोषीलाई कारवाही गर्न आयोगसँग माग गरेका छन् । उपनिर्वाचन स्चच्छ, स्वस्थ्य र धाँधलीमुक्त वातावरणमा सम्पन्न गर्न आग्रह गर्दै उनले भनेका छन्, ‘संसदको चौथो ठूलो राजनीतिक दलप्रति भएको निकृष्ठ अलोकतान्त्रिक क्रियाकलापप्रति सम्मानित निर्वाचन आयोगको गम्भीर ध्यानाकर्षण गराउन चाहन्छौ ।’

टिप्पणीहरू