मेयरको कार्यकक्षमा वडाध्यक्षले मुड्की बजार्दा .....

मेयरको कार्यकक्षमा वडाध्यक्षले मुड्की बजार्दा .....
सुन्नुहोस्

कीर्तिपुर नगरपालिकाका कार्यवाहक मेयर शुभलक्ष्मी शाक्यमाथि वडा नम्बर ३ का वडाध्यक्ष सुबिन्द्र महर्जनले दुर्व्यवहार गरेका छन् । गत शुक्रबार दिउँसो शाक्यको कार्यकक्षमै पुगेर उनले हातपातको प्रयाससमेत गरेको बताइएको छ । 

सडक कालोपत्रे गर्ने सम्बन्धमा प्रक्रियागत ढिलासुस्ती र बेवास्ता भएको भन्दै वडाध्यक्ष महर्जनले आफूलाई गालीगलौज गरेको उपमेयर शाक्यले बताइन् । त्यसक्रममा महर्जनले मुड्कीले हानेर सिसाको टेबलसमेत फुटाएको बताइन्छ । त्यहाँ रहेका अन्य व्यक्तिले झगडा छुट्याएपछि थप क्षेति हुनबाट जोगिएको थियो । 

वडा नं ३ मा करिब ६०० मिटर सडक कालोपत्रे गर्न सडक विभागबाट बजेट परेको थियो । तर, सडकको ‘राइट्स अफ वे’ पास भइसकेको छैन । सोही विषयमा विवाद हुँदा भौतिक आक्रमणको अवस्था आएको प्रमुख प्रशासकीय अधिकृत माधवप्रसाद ढकालले जानकारी दिए ।

उनका अनुसार  वडाध्यक्ष महर्जनले जसरी पनि तत्काल सडक कालोपत्रे गर्नुपर्ने अडान लिएका थिए भने कार्यवाहक मेयर शाक्यले पहिले मापदण्ड पूरा गर्नुपर्ने बताइएकी थिइन् । त्यसपछि विवाद चर्किएको र झन्डै हात हालाहालको अवस्था आएको ढकालले बताए । 

‘त्यो सडकले केही नीजि जग्गा पनि छोएको छ, स्थानीयलाई मर्कामा नपारी कालोपत्रे गर्नुपर्छ भन्ने हो, त्यसको लागि अहिले मापदण्डको प्रक्रिया जारी छ । वडाध्यक्षज्यूलाई चाहीँ कार्यवाहक प्रमुखज्यूले नै योजना रोक्नुभयो भन्ने महशुस भएर एग्रेसिभ हुनुभएको हो’, उनले भने । 

जनप्रतिनिधिजस्तो व्यक्तिले गुण्डागर्दीको शैली अपनाउनु दु:खद भएको शाक्यले बताएकी छन् । आफूले वडाध्यक्षलाई सडकको मापदण्ड पुरा गर्ने प्रक्रिया चलिरहेको भनेर सम्झाउन खोज्दा पनि भौतिक आक्रमणमा उत्रिएको दु:खेसो गरिन् ।

‘मैले सडक नबनाउने त भनेकै छैन नि !, ढिलो भए पनि मापदण्ड पूरा गरेर बनाउ भनेको हुँ’, उनले भनिन्, ‘नत्र पछि त्यही सडक भत्काउनुपर्ने अवस्था आयो भने हामीलाई नै अफ्ठ्यारो हुन्छ, यो कुरा उहाँले पनि बुझ्नुपर्ने हो क्यारे !'

जनप्रतिनिधि भौतिक आक्रमणमा उत्रँदा जनतामा गलत सन्देश गएको शाक्यको भनाई छ । ‘यहाँ एउटा टेबल फुटेको विषयमात्रै होइन, सरकारको एउटा कलम भाँचियो भने पनि उत्तिकै भागेदार हुनुपर्छ, वडाध्यक्षज्यू जुन हर्कत देखाउनु भयो, त्यो अपेक्षित थिएन । त्यो शोभनीय भएन’, उनले थपिन् ।

टिप्पणीहरू