धम्क्याउँदै असुली धन्दा चलाउँदै आएका आशिष समातिए

धम्क्याउँदै असुली धन्दा चलाउँदै आएका आशिष समातिए

‘अन्डर कभर एजेन्ट’ हुँ भन्दै व्यापारीलाई धम्क्याएर असुली धन्दा चलाउँदै आएका एक जना पक्राउ परेका छन् । भोजपुरको भोजपुर नगरपालिका–११ घर भई हाल ललितपुरको ग्वार्को नजिकै सानोगाउँ बस्ने ३२ वर्षीय आशिष दाहाललाई प्रहरीले नियन्त्रणमा लिएको छ । 

आफूलाई ‘अन्डर वल्र्ड नेटवर्क’ को ‘अन्डर कभर एजेन्ट’ दावी गर्दै ह्वाट्सएपमार्फत् व्यापारीहरुलाई धम्क्याउँदै आएका उनीविरुद्ध उजुरी परेको थियो । दाहालले प्रतिव्यक्ति ५० हजारदेखि दुई लाख रुपैयाँसम्म माग्ने गरेको उपत्यका अपराध अनुसन्धान कार्यालयका डिएसपी काजीकुमार आचार्यले जानकारी दिए । उनका अनुसार दाहाल एमबिबिएस डाक्टरसमेत हुन् । 

शंखमूलबाट पक्राउ परेका उनलाई थप अनुसन्धानको निम्ति जिल्ला प्रहरी परिसर, भद्रकाली पठाइएको छ । 

उता भारतीय गुण्डा नाइके लरेन्स विश्नोइको नाम लिएर केही व्यापारीहरुलाई धम्कीपूर्ण सन्देश आएको पाइएको छ । बलिउड अभिनेता सलमान खानलाई हत्याको धम्की दिएर चर्चा आएका लरेन्स हाल तिहाड जेलमा छन् । तर उनले जेल भित्रैबाट गिरोह परिचालन गरेको हल्ला फैलिरहँदा नेपालका व्यापारीहरुलाई पनि धम्की आएको हो । 

भारत र दुबईको लोकेसन देखाउने नम्बरबाट आएका धम्कीपूर्ण कल रेकर्ड बोकेर आधा दर्जन व्यापारीहरु प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) पुगेको बुझिएको छ । सहयोग नगरेमा जहाँ पनि सुट गरिदिने धम्की आएको भन्दै व्यापारीहरुले प्रहरीलाई गुहारेका हुन् । 

यस सम्बन्धमा मोबाइल नम्बर र कल रेकर्डको अध्ययन भइरहेको सिआइबीले जनाएको छ ।

टिप्पणीहरू