बोर्डरबाट आएका कर्माको जुत्ताभित्र दुई किलो सुन

बोर्डरबाट आएका कर्माको जुत्ताभित्र दुई किलो सुन

रसुवामा दुई किलो सुनसहित एक जना समातिएका छन् । गोसाइँकुण्ड गाउँपालिका-३ का कर्मा सोनाम लामालाई प्रहरीले कालिका गाउँपालिका-१ बाट पक्राउ गरेको हो । 

हिजो साँझ साढे ७ बजेतिर उनले चलाएको बागमती प्रदेश ०२–०४३ प २४३४ नम्बरको बाइक चेकजाँचमा परेको थियो । त्यसपछि अत्तालिएका उनलाई तलासी गर्दा सुन भेटिएको जिल्ला प्रहरी कार्यालय रसुवाका प्रमुख डिएसी केशव भट्टराईले जनकारी दिए । 

‘चेकजाँच गर्दा चालक हडबडाएका थिए, तलासी गर्दा दुवै खुट्टाको जुत्ताभित्र सुन लुकाइएको रहेछ', उनले भने ।
 
घटनाको थप अनुसन्धानको लागि लामालाई भन्सार कार्यालयको जिम्मा लगाइएको छ । लामाले उक्त सुन कहाँबाट ल्याए ? कहाँ लैजादै थिए ? भन्नेबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
 

टिप्पणीहरू