जम्बो टोलीप्रति प्रमको दुःखेसो

जम्बो टोलीप्रति प्रमको दुःखेसो

जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्रसंघीय संरचना महासन्धि पक्ष राष्ट्रहरूको २९ औं सम्मेलन ( कोप २९ ) मा भाग लिन जानेहरु धेरै भएको भन्दै प्रधानमन्त्री खड्गप्रसाद शर्मा ओलीले चित्त दुखाएकोमा उक्त टोली शुक्रबार स्वदेश फर्केको छ । राष्ट्रपति रामचन्द्र पौडेलको नेतृत्वमा गएको टोलीमा २१ जना थिए । पूर्व सोभियत गणराज्य अजरबैजानको राजधानी बाकुमा नेपालको राजदूतावास छैन भने नेपालमा पनि अजरबैजानको वाणिज्य दूतावाससमेत छैन । नेपाली त त्यहाँ हुने कुरै भएन ।

टोलीमा राष्ट्रपति कार्यालयका ८ जना, प्रधानमन्त्री कार्यालय, वन मन्त्रालय र अर्थ मन्त्रालयसमेतका प्रतिनिधिहरू सामेल थिए । त्यसो त वन मन्त्रालयको टोली आवश्यकभन्दा बढी गएको भन्दै अख्तियारमा उजुरीसमेत परेको छ । शीतल निवासबाट राष्ट्रपतिसहित ८ जना, सुरक्षा दस्ता, चिकित्सक, निजी सचिवलगायत संलग्न थिए भने परराष्ट्र मन्त्रालयको तर्फबाट अमृत राई र पुरुषोत्तम ढुंगेलसहित ४ जना थिए । प्रम, वन र अर्थका कर्मचारी पनि त्यसैमा मिसिए । 

गत वर्ष दुबईमा सम्पन्न कोप २८ मा भाग लिन जाँदा पनि १८ जनाको टोली थियो । त्यसअघि इजिप्टमा महिला मन्त्री उमा पौडेलले भाग लिएकी थिइन् । पोल्याण्डको कोप २४ मा तत्कालीन राष्ट्रपति विद्यादेवी भण्डारीले सहभागिता जनाउनुभएको थियो । त्यसो त कोपको सम्मेलनमा एकचोटि बाहेक सबै पटक राष्ट्रप्रमुख वा कार्यकारी प्रमुखले नै भाग लिँदै आएका छन् । 

बाकु सम्मेलनमा भाग लिनेमध्ये सार्क मुलुक माल्दिभ्सका राष्ट्रपति मोहम्मद मुइज्जुसँग मात्र राष्ट्रपति पौडेलको भेटवार्ता हुन सक्यो । नेपाली पक्षले जलवायु परिवर्तनका कारण भोग्नुपरेको समस्या राख्दै अन्तर्राष्ट्रियस्तरमा जलवायु न्याय र लस एण्ड ड्यामेज फण्ड प्राप्त गर्नुपर्ने दावी पेश गरेका थिए ।

(साभार:जनआस्था-साप्ताहिकबाट)

टिप्पणीहरू