रविलाई प्रश्नको ओइरो : कसले गर्यो ‘मिडिया ट्रायल’ र ‘स्टन्ट’ ?
सहकारी ठगीलगायत विभिन्न आरोपमा पक्राउ परेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले बारम्बार दोहोर्याइरहने शब्द हो, ‘मिडिया ट्रायल’ । हिरासतमा पुग्नुअघि संसद बैठक र विभिन्न सभा समारोहमा उनले आफूविरुद्ध विपक्षीहरुले ‘मिडिया ट्रायल’ गरिरहेको आरोप लगाउँथे । तर, आफूले गर्दै आएको ‘मिडिया ट्रायल’ र ‘स्टन्ट’ भने लामिछानेले कहिल्यै स्वीकार गरेनन् ।
उनीमाथि अनुसन्धान जारी रहँदा न्यायिक प्रक्रियालाई प्रभावित पार्नेगरी रास्वपा कार्यकर्ताले गरिरहेको सडक प्रदर्शन ‘मिडिया ट्रायल’ कै उदाहरण रहेको कतिपयको तर्क छ । पछिल्लो समय प्रहरीले हात पारेको रविको हस्ताक्षरसहितको चेक सम्बन्धमा सह–प्रवक्ता मनिष झामार्फत् हिरासतबाटै स्पष्टीकरण दिनु पनि ‘मिडिया ट्रायल’ कै अर्को सिलसिला मान्न सकिने विश्लेषकहरूको टिप्पणी छ ।
रविले सहप्रवक्ता मनिष झामार्फत् केही मिडियाहरु सुनियोजित रुपमा आफूविरुद्ध लागेको गम्भीर आरोप लगाएका छन् । ‘थुनिएको मौका छोपेर कायरतापूर्वक गरिएको ‘मिडिया ट्रायल’ र संगठित मिडिया आक्रमणको तथ्य प्रमाणसहितको जवाफ दिन पाए त हुन्थ्यो, तर यतिबेला धैर्यतापूर्वक प्रतिक्षा गर्नुको विकल्प छैन’, हिजो उनले भनेका कुरा झाले सार्वजनिक गरेका छन् ।
लामिछानेले आफूमाथि सरकारले राजनीतिक प्रतिशोध साँधेको भन्न छोडेका छैनन् । ‘ममाथि कम्पनी ऐनमा अनुसन्धान हुनुपर्नेमा सहकारी ठगीको झूठो मुद्दामा गिरफ्तार गरियो, अझ प्रतिशोधपूर्वक संगठित अपराध र सम्पत्ति शुद्धीकरण समेतको मुद्दा छँदैछ’, उनको भनाई सहप्रवक्ता झामार्फत बाहिर आएको छ, ‘त्यतिले नपुगेर सरकारी वकिल कार्यालय नै लागेर मेरा बयानका अधुरा, अपुरा र मेरोविरुद्ध हुनेगरी मिडियालाई सूचना चुहाउने कार्य हुँदैछ ’
रविको यस्तो अभिव्यक्ति पढेपछि कतिपयले ‘आफ्नो आङको भैँसी नदेख्ने, अर्काको आङमा जुम्रा खोज्ने’ भन्दै व्यङ्ग्य गरेका छन् । ‘अरुले बोल्दा ‘मिडिया ट्रायल’ हुने ? आफूले बोल्दा नहुने ?’ धेरैको प्रश्न छ ।
सामाजिक सञ्जालमा प्रमोद थापा लेख्छन्, ‘गोर्खा मिडियामा हुँदा टिभीमा कराउनु भयो, नेता बनेपछि चितवनमा कराउनुभयो, अहिले हिरासतमा पुगेर पनि कराउन छाड्नुभएन । कृपया, केही समय त चुप लागेर बस्नुस् । आफैँ ‘मिडिया ट्रायल’ गरेको भन्ने, अनि अरुलाई आरोप लागाउने ?’
कल्पना डाँगीले पनि रविलाई ‘चतुर स्टन्टबाज’को संज्ञा दिएकी छन् । भन्छिन्, ‘जबसम्म हामी भीडलाई विश्वास गछौँ, तबसम्म हामीले पाउने भनेकै तपाईं (रवि)जस्तै चतुर स्टन्टबाज हो । सहकारीको पैसा खाएको प्रमाणहरु छरपष्ट हुँदा पनि यो मान्छेलाई कसरी आउँछ हौ यस्तो कन्फिडेन्स ?’
गोपाल केसीले भने रविलाई गल्ती स्वीकार गर्न सुझाव दिएका छन् । ‘खोया काण्ड’को प्रसंग कोट्याउँदै लेखेका छन्, ‘धन्न तपाईंले खोया खानुभयो र सबै कतुर्त बाहिर आयो, नत्र हामी जनता तपाईंको भ्रममा पर्ने रहेछौँ ।’
टिप्पणीहरू