पहुँचयुक्त मतदानस्थल निर्माण गर्न निर्देशन
निर्वाचन आयोगले पहुँचयुक्त मतदान केन्द्र निर्माण गर्न स्थानीय तहलाई निर्देश गरेको छ । आसन्न स्थानीय तह उपचुनावलाई लक्षित गर्दै आयोगले गर्भवती महिला, अशक्त, बिरामी, ज्येष्ठ नागरिक र अपांगता भएका मतदाताको पहुँच पुग्ने खालका मतदान केन्द्र निर्माण गर्न निर्देशन दिएको हो ।
मतदान केन्द्र स्थापना गर्दा सहज मार्गको व्यवस्था गर्न, उपयुक्त स्थानमा मतपेटिका राख्न र सम्भव भएसम्म विश्रामस्थलको समेत व्यवस्था गर्न आयोगले भनेको छ ।
‘मतदानमा खटिएका कर्मचारीले मतदान केन्द्र निर्माण गर्दा सम्बन्धित स्थानीय तहसँगको सहयोग र समन्वयमा गर्भवती महिला, अशक्त, बिरामी, ज्येष्ठ नागरिक र अपांगता भएका मतदाताको गोप्य मतदान कक्षसम्म जानका लागि सहज मार्गको व्यवस्था, उपयुक्त स्थानमा गोप्य मतदान कक्ष तथा मतपेटिका राख्ने व्यवस्था, मतदान केन्द्रमा प्रवेश गर्दा र मतदान गरिसकेपछि बाहिर निस्कँदा सहज मार्गको व्यवस्था एवं सम्भव भएसम्म विश्रामस्थलको समेत व्यवस्थाका लागि निर्देशन दिइएको छ’, आयोगले आज जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।
निर्वाचनमा प्रत्येक मतको समान महत्व हुने उल्लेख गर्दै आयोगले मंसिर १६ गते उपनिर्वाचनमा सम्पूर्ण मतदातालाई सम्बन्धित मतदान केन्द्रमा गई सहज रुपमा आफ्नो मताधिकार प्रयोग गर्न पनि आग्रह गरेको छ ।
टिप्पणीहरू