श्रीमतीको टाउकोमा भाँडा बजारेका उपप्राध्यापकद्वारा प्रहरीसामु आत्मसमर्पण
रिसलाई नियन्त्रण गर्न नसक्दा सुदूरपश्चिम विश्वविद्यालयका एक जना उपप्राध्यापक प्रहरी खोरमा पुगेका छन् । भीमदत्त नगरपालिका–४ का पृथ्वीराज भट्ट श्रीमती कुटेपछि आफैं प्रहरी कार्यालयमा हाजिर भएका हुन् ।
घटना गत शनिबारको हो । सार्वजनिक बिदा भएकाले त्यो दिन भट्ट कार्यालय गएका थिएनन् । दिउँसो पारिवारिक विषयमा सामान्य विवाद हुँदा उनले श्रीमती जयन्तीमाथि भाँडाले प्रहार गरेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका डिएसपी उमेश जोशी बताउँछन् । प्रहारबाट जयन्तीको टाउकोमा चोट लागेकाले अहिले पनि अस्पतालमा उपचाररत छिन् ।
जयन्तीका दाजुले अस्ति बहिनीज्वाईंविरुद्ध ज्यान मार्ने उद्योगमा किटानी जाहेरी दिएका थिए । तर प्रहरीले सम्पर्क गर्नुअघि भट्ट आफैं उपस्थित भएर आत्मसर्मपण गरेको डिएसपी जोशीले जानकारी दिए । उनले जनआस्थासँग भने, ‘अस्ति जाहेरी परेपछि हामीले सोधपुछको लागि सम्पर्क गर्ने प्रयास गरेका थियौँ, तर उहाँ आफैं आएर कानुनलाई सघाउँछु भन्दै आत्मसमर्पण गर्नुभयो ।’
भट्टले प्रहरीसमक्ष रिसको आवेगमा हात हालेको स्वीकार गरेका छन् । तर श्रीमतीको टाउकोमा चोट कसरी लाग्यो ? भन्ने प्रहरीको प्रश्नमा उनले भनेका छन्, ‘झगडा पर्दाखेरी भाउजू छुट्याउन आउनुभएको थियो, उहाँकै चुरा फुटेर लाग्यो होला ।’
भट्टको उक्त जवाफमा विश्वास गर्ने आधार नदेखिएको प्रहरीको भनाई छ । आज जिल्ला अदालतबाट म्याद थपेर उनीमाथि अनुसन्धान अघि बढाइएको छ ।
टिप्पणीहरू