सिरियाली बिद्रोहीद्वारा राजधानी कब्जा, राष्ट्रपति देश छोडेर भागे
सिरियाका राष्ट्रपति बसर अल असादले देश छाडेका छन् । हायात तहरिर अल-शाम नामक इस्लामवादी विद्रोही समूह राजधानी दमास्कस प्रवेश गरेसँगै राष्ट्रपति असाद भागेका हुन् ।
सिरियाका सरकारी अधिकारीहरुले राष्ट्रपति असाद एउटा विमानमार्फत उडेको पुष्टी गरेका छन् । तर, उनी कहाँ गए भन्नेबारे जानकारी नगराइए पनि इरान गएको हुनसक्ने धेरैको अनुमान छ ।
हिजबुल्लाहका सेना र अन्य सुरक्षा बलले पनि दमास्कस अन्तराष्ट्रिय विमानस्थलमा छाडिसकेको अन्तराष्ट्रिय मिडियाले जनाएका छन् । हिजबुल्लाहले लामो समयदेखि राष्ट्रपति असादको समर्थनमा कामकारवाही गर्दै आएको थियो । विद्रोही अल-शाम समूहले यसअघि होम्स शहरमा कब्जा गर्दा पनि हिजबुल्लाह सेना त्यहाँबाट भागेका थिए। पछिल्लो दुई महिनायता आधा दर्जन शहरमा कब्जा जमाएको उक्त विद्रोही समूहले राष्ट्पति असाद भागेसँगै कालो युगको अन्त्य भएको दावी गरेको छ । राष्ट्रपतिको बर्हिगमनले ‘तानाशाही युग’को अन्त्य भएको उसको तर्क छ ।
त्यस्तै अल-शाम समूहले टेलिग्राम च्यानलमार्फत राजधानीबासीलाई त्रसित नहुन आग्रह गर्दै अब नयाँ युगको शुभारम्भ हुन गइरहेको सन्देश पनि जारी गरेको छ । तर, नागरिकहरुमा भने आतंक पैदा भएको छ। दमास्कसको पछिल्लो १२ घण्टाको परिस्थितिबारे एक महिलाले भनेकी छन्, ‘विहान घरबाट कार्यालय निस्कदाँ यस्तो अवस्था थिएन । अचानक सबै डराएका छन् । सडकमा भीड बढेको छ, मानिसहरु आपूर्ति खोज्दै हिँडिरहेका छन्, एटिएममा पैसा निकाल्नेहरुको लाइन लागेको छ, मानिसहरुबीच राजधानी छाडेर अन्यत्र जाने सल्ल्लाह भइरहेको छ।’
विद्रोही समूह हायत तहरीर अल-शाम सन् २०१२ मा गठन भएको थियाे । सुरुमा यो समूहको नाम अल-नुस्रा थियो । सन् २०१३ मा अल-कायदासँग एकता गरेको यस समूह पुनः २०१६ मा छुट्टिएर हायत तहरीर अल-शाम बनेकाे हाे । कतिपय युरोपियन देहरुले अहिले पनि यस समूहलाई अल-कायदाकै एक भाग मान्ने गरेका छन् ।
टिप्पणीहरू