अमेरिकाले विश्वलाई ‘लुटेराको अखडा’ बनाउन खोजेको आरोप
जर्मनीका राष्ट्रपति फ्राङ्क–वाल्टर स्टाइनमायरले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको विदेश नीतिले हालको विश्व व्यवस्थालाई कमजोर बनाएको बताएका छन् । उनले विश्वलाई ‘लुटेराको अखडा’ मा रूपान्तरण हुन नदिन अन्तर्राष्ट्रिय समुदाय सचेत रहनुपर्नेमा पनि जोड दिएका छन् ।
एक गोष्ठीमा स्टाइनमायरले भेनेजुएलाका राष्ट्रपति निकोलस मादुरोलाई अपदस्थ गरिएको घटनातर्फ संकेत गर्दै—विश्वव्यापी लोकतन्त्र अहिलेसम्मकै गम्भीर संकटमा परेको उल्लेख गरे । पूर्व विदेशमन्त्रीसमेत रहेका स्टाइनमायरले रूसद्वारा क्रिमिया कब्जा र युक्रेनमाथि गरिएको पूर्णस्तरको आक्रमणलाई पहिलो ऐतिहासिक मोडको संज्ञा दिँदै अमेरिकाको पछिल्लो व्यवहारलाई दोस्रो ठूलो विचलनका रूपमा व्याख्या गरेका छन् ।
‘हाम्रो सबैभन्दा महत्वपूर्ण साझेदार अमेरिका—जसले यो विश्व व्यवस्था निर्माण गर्न प्रमुख भूमिका खेलेको थियो—त्यही देशबाट आज मूल्य र मान्यताको पतन देखिनु गम्भीर विषय हो,’ उनले भनेका छन् । विश्व व्यवस्था केही शक्तिशाली राष्ट्रहरूको निजी सम्पत्ति बन्न नहुनेतर्फ उनको चेतावनी छ ।
‘विश्वलाई यस्तो अराजक अवस्थातर्फ जानबाट रोक्नुपर्छ जहाँ निर्दयीहरूले जे चाह्यो त्यही लिन्छन् र सम्पूर्ण देश वा क्षेत्र केही सीमित शक्तिको अधीनमा पर्छन्,’उनी भन्दछन् ।अलंकारिक हैसियतमा भएकाले जर्मन राष्ट्रपतिको भूमिकालाई केवल औपचारिक मानिन्छ । तर उनका अभिव्यक्तिलाई राजनीतिक रूपमा महत्वपूर्ण रूपमा लिने गरिएको छ । किनकि जर्मनीमा राष्ट्रपतिलाई निर्वाचित राजनीतिज्ञहरूभन्दा खुलेर धारणा राख्ने स्वतन्त्रता दिइएको छ ।
जर्मनीको सार्वजनिक प्रसारण संस्था एआरडीका लागि गरिएको एक सर्वेक्षणमा ७६ प्रतिशत जर्मन नागरिकले अमेरिका जर्मनीका लागि भरपर्दो साझेदार नरहेको बताएका छन् ।
यसबीच, जर्मनीको सार्वजनिक प्रसारण संस्था एआरडीका लागि गरिएको एक सर्वेक्षणमा ७६ प्रतिशत जर्मन नागरिकले अमेरिका जर्मनीका लागि भरपर्दो साझेदार नरहेको बताएका छन् । यो तथ्याङ्क गत जुन महिनायता तीन प्रतिशतले बढेको छ । सर्वेक्षणमा सहभागी केवल १५ प्रतिशतले मात्र अमेरिका अझै विश्वासयोग्य रहेको उल्लेख गरेका छन् ।
सर्वेक्षणमा सहभागी करिब तीन चौथाइले फ्रान्स र बेलायतलाई भरपर्दो साझेदारका रूपमा हेरेका छन् । सर्वेक्षण अनुसार ६९ प्रतिशत जर्मन नागरिक युरोपको सुरक्षाबारे चिन्तित देखिन्छन् । त्यस्तै, नेटो सदस्य राष्ट्रहरूले अमेरिकाको सुरक्षा प्रतिबद्धतामा भर पर्न नसक्ने धारणा राख्नेको संख्या पनि उत्तिकै छ ।
टिप्पणीहरू