वीरगञ्ज पुर्याइएका रविलाई बयानपछि पोखरा लगिँदै
सहकारी ठगी, संगठित अपराध, र सम्पत्ति शुद्धीकरण कसुरमा अनुसन्धानको क्रममा कास्की प्रहरी हिरासतमा रहेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति तथा पूर्व गृहमन्त्री रवि लामिछानेसँग आज वीरगञ्जमा बयान लिने तयारी छ । उनलाई हिजो पोखराबाट काठमाडौं र काठमाडौंबाट सिमरासम्म हवाई मार्ग र त्यहाँदेखि वीरगञ्जसम्म गाडीमा लगिएको थियो ।
बयान सकिएपछि लामिछानेलाई सम्भवतः आजै कास्की लैजाने तयारी प्रहरीको छ । अस्ति चार दिनको म्याद थपिएका रविलाई पुनः म्याद थपका लागि भोलि कास्की अदालतमा उपस्थित गराउनुपर्ने हुन्छ ।
लामिछाने प्रबन्ध निर्देशक, छविलाल जोशी उपाध्यक्ष र जीबी राई अध्यक्ष रहेको गोर्खा मिडियामा वीरगञ्जको सानो पाइला बचत सहकारीको एक अर्ब ३५ करोड रुपैयाँ हिनामिना गरिएको आरोप लागेको छ । उनीहरुविरुद्ध उजुरी परेपछि पर्सा जिल्ला अदालतले लामिछानेलगायतलाई पक्राउ गर्न अनुमति दिएको थियो । रविसँगै जोशीलाई पनि वीरगञ्ज पुर्याइएको छ । जोशीलाई स्थलमार्ग हुँदै लगिएको हो ।
टिप्पणीहरू