जबर्जस्ती करणीमा समातिएका पूर्व मेयर चार दिन थुनामा

जबर्जस्ती करणीमा समातिएका पूर्व मेयर चार दिन थुनामा
सुन्नुहोस्

जबर्जस्ती करणीको आरोपमा पक्राउ परेका बिर्तामोड नगरपालिकाका पूर्वमेयर ध्रुवकुमार शिवाकोटीलाई चार दिन हिरासतमा राखेर अनुसन्धान गर्न जिल्ला अदालत झापाले अनुमति दिएको छ । प्रहरीका अनुसार उनलाई थुनामा राखेर अनुसन्धान गर्न अदालतले उक्त अनुमति दिएको हो । 

आफ्नै घरमा काम गर्न राखिएकी किशोरीलाई बलात्कार गरेको आरोपमा शिवाकोटी हिजो पक्राउ परेका थिए । पीडित किशोरी भारततर्फ जाँदै गर्दा हिजो बिहान एक संस्थाले काँकडभिट्टाबाट उद्धार गरेर प्रहरीलाई बुझाएको थियो । 

ती बालिकाले आफूलाई शिवाकोटीले बलात्कार गरेको बताएपछि प्रहरीले जाहेरी लिएर हिजोबाटै अनुसन्धान अगाडि बढाएको जनाएको छ । शिवाकोटी २०७४ को स्थानीय तहको निर्वाचनमा नेकपा एमालेका तर्फबाट बिर्तामोडको मेयरमा निर्वाचित भएका थिए ।

टिप्पणीहरू