महिलाहरुले मायाँ पोख्दाका अनुपम नमूना
सहकारी ठगी प्रकरणमा रवि लामिछानेमाथि सुक्ष्म र गहन अनुसन्धान भइरहेको बेला नेपाल प्रहरी एउटा घटनाको भने कारण पत्ता लगाउन नसकेर आफैं अचम्ममा परेको छ । त्यो हो, रवि लामिछानेप्रति महिलाहरुको प्रेम । गत बुधवार चितवनमा उनीसँग प्रहरी र वकिलले सरकारी वकिल कार्यालयमा बयान लिइरहँदा त्यसको विरोधमा उत्रने करिब एक हजार रास्वपा समर्थकमध्ये ८० प्रतिशत महिला थिए । विगतमा पनि शालिकराम पुडासैनी प्रकरणमा पक्राउ पर्दा रिहाईको माग गर्दै उर्लिएको भीडमा महिलाकै सङ्ख्या बाक्लो थियो ।
अरुलाई भए निकै नै गाह्रो पर्ने गरी उनलाई बहुविवाहको प्रमाणित आरोप छ तर त्यसले अलिकति पनि छोएको देखिन्न । धेरै पत्नी बनाएको मात्र होइन कि विवाह गर्दै स्वार्थ पूरा भएपछि छोड्दै हिँड्ने बानीबारे सार्वजनिक रुपमा जतिसुकै टिप्पणी भए पनि महिलाहरुले नै त्यसलाई सामान्य रुपमा लिएको देखिन्छ । जबकि रवि लामिछानेले अपचलन गरेको सहकारीको रकम अधिकांश महिलाले खाई नखाई दुःखजिलो गरी जोगाएको सुका आना नै हो । तर पनि उनको ठगी गर्ने कर्तुतबाट महिलाहरू आक्रोशित बनेको देखिएको छैन । यही कुराको अन्तर्य बुझ्न नसकेर हो, प्रहरी हैरानीमा परेको ।
त्यसदिन चितवनमा सहकारी पीडित र रवि समर्थकहरूको प्रदर्शन उही बेला परेको भए पनि दुईवटा फरक फरक ठाउँमा भेला भएका कारण प्रहरीले त्यसको व्यवस्थापन गर्न सक्यो । नत्र दुई पक्षबीच भिडन्त हुने सम्भावनासमेत अत्यन्तै बढेर गएको थियो ।
यसबीच रवि लामिछानेले जुनसुकै प्रश्नको पनि उस्तै जवाफ दिएर अनुसन्धानकर्तालाई हैरान पारेको सरकारी वकिलहरुले बताएका छन् । उनलाई जतिवटा जिल्लाबाट पक्राउ पुर्जी जारी गर्दै ७०–७५ वटा प्रश्न सोधे पनि ‘मलाई थाहा छैन, पैसा मैले झिकेको छैन, चेकमा हस्ताक्षर गरेर राखिदिएको थिएँ कसले के भरे र कता बुझाए जानकारीमा छैन’ भन्ने जवाफ दिँदै आएका छन् ।
अमेरिका बस्ने म्याग्देली मोहनजंग थापा रविले यताबाट पठाएको रकमको व्यवस्थापक रहेको अनुसन्धानमा खुलेको छ । अमेरिकी नागरिक रहेका कारण उनलाई समातेर ल्याउने सम्भावना नभए पनि कुनै प्रकारको कूटनीतिक नोटमार्फत् निगरानी राख्न वा स्थानीय कानुनअनुसार नै भए पनि कारबाही चलाउन अमेरिकी सरकारलाई अनुरोध गर्ने योजनामा नेपाल प्रहरी रहेको बुझिएको छ ।
अनुसन्धानमा संलग्न प्रहरी अधिकृतका अनुसार रवि लामिछानेले नेपालबाट अवैध रुपमा रकम पठाएका केही प्रमाण प्रहरीले फेला पारिसकेको छ । त्यस्ता रकम कति कानुनी बाटो प्रयोग गरेर पठाइयो र कति अवैधानिक ढंगले हुण्डीमार्फत पठाइयो भन्ने कुराको विश्लेषणसमेत हुँदै गरेको जानकारी प्राप्त भएको छ ।
टिप्पणीहरू