माओवादी र एस मिल्लान् !
‘फेरि पनि म केही दिनभित्रै प्रधानमन्त्री हुन्छु, हाम्रो ३२ सिट नै म्याजिक नम्बर हो । जादुई नम्बर भएकैले प्रधानमन्त्रीको अफर बारबार आउने गरेको छ ।’
यस्तो सुन्नासाथ अझै पनि सत्ताको लोभ हटेको छैन ? भनेर कराउन जाने नेताहरुलाई माओवादी अध्यक्ष प्रचण्डले काभ्रे–काठमाडौं सम्पर्क मञ्चको एक हप्ताअघि आयोजित भेलामा कार्यकर्ता हौस्याउनमात्रै त्यसो भनेको हो भन्दै आफ्नो उपरोक्त भनाइको प्रतिरक्षा गरेका छन् ।
प्रमुख प्रतिपक्ष भनेको गभर्मेन्ट इन वेटिङ हो भन्ने जानकारी दुनियाँलाई हुँदाहुँदै फेरि पनि मै प्रधानमन्त्री बन्छु भन्ने जस्ता अभिव्यक्तिले माओवादीलाई उपचुनाव जिताए पनि जनतामा राम्रो छवि बन्न दिएको छैन । यसबीच प्रधानमन्त्री केपी शर्मा ओली चीनबाट फर्केपछि सत्ता समीकरण परिवर्तन हुने हल्ला चलाइएको छ । चीन र भारत दुवैले मन नपराएकाले अहिलेको समीकरण परिवर्तन हुने ठोकुवा पनि गरिएको छ । तर, यथार्थता भने अर्कै छ ।
कांग्रेसले रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टीलाई लिएर सत्तामा जाने वा समीकरण फेर्ने सम्भावना ज्यादै न्यून छ । घण्टीलाई सँगै लैजाँदा कांग्रेसलाई नै धेरै घाटा भएको छ । रास्वपामा कांग्रेस पृष्ठभूमिकै नेता–कार्यकर्ता तथा समर्थक बढी देखिन्छन् । अर्कोतर्फ कांग्रेस र एमालेबीचको सम्झौताअनुसार रवि लामिछानेलाई हिरासतमा राख्दा कांग्रेसको शक्ति दह्रो हुने विश्लेषण रहेकाले पनि यो समीकरण फेरिने हल्ला गलत सावित हुने पक्का छ ।
यसबीच लामिछानेलाई थुन्दा कांग्रेस बलियो हुने र एकीकृत समाजवादीलाई टुक्र्याउँदा एमालेलाई सहज हुने निश्कर्षका साथ एमाले र कांग्रेसको समीकरण बनेको दाबी पनि गरिएको छ । तर, कांग्रेस सभापति शेरबहादुर देउवाले ‘आफ्नो दलभित्र पनि त्यस्तो प्रावधानका कारण बिग्रह आउने र एमालेको सधैं भर पर्ने अवस्था नभएकाले पार्टी टुक्र्याउन मिल्ने अध्यादेश ल्याउने गल्ती नगर्ने’ भन्दै एकीकृत समाजवादी (एस)का शीर्षस्थ नेताहरूलाई आश्वस्त तुल्याउँदै आएको अवस्था छ ।
यसैबीच, माओवादी अध्यक्ष प्रचण्डसहितका शीर्षस्थ नेताले एससँग पार्टी एकीकरण गरौँ भन्ने प्रस्ताव झन् जोडसँग अघि बढाएको बुझिएको छ । एसका नेताहरूले भने माओवादीले जितेको करिब १२० स्थानीय तहमा हाम्रा नेता तथा कार्यकर्ताले लगेको निवेदन वा योजनामा एक पैसा विनियोजन गरेको देखाऊ, त्यसपछि अरु कुरा गरौंला भन्दै आएका छन् ।
टिप्पणीहरू