सडक निर्माणमा अनियमितता, हाकिमसहित आठ जनाविरुद्ध ११ लाखको बिगो

सडक निर्माणमा अनियमितता, हाकिमसहित आठ जनाविरुद्ध ११ लाखको बिगो

धादिङको रुवीभ्याली गाउँपालिकाका तत्कालीन प्रमुख प्रशासकीय अधिकृत टंकबहादुर नेगी भ्रष्टाचारमा तानिएका छन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले उनीसहित आठ जनाविरुद्ध आज मुद्दा दर्ता गरेको छ । 

वडा नम्बर ४ का तत्कालीन वडाध्यक्ष प्रशान्त तामाङ, इन्जिनियर सुदिप रेग्मी, लेखापाल बाबुलाल नेगी, असिस्टेन्ट सबइन्जिनियर लालमान तामाङ, उपभोक्ता समितिका अध्यक्ष अजयलाल तामाङ, सचिव सन्जिव तामाङ र कोषाध्यक्ष सञ्चमाया तामाङलाई पनि प्रतिवादी बनाइएको छ ।  

स्थानीय पागोमादेखि स्कुलसम्मको शाखा सडक निर्माणमा उनीहरुले अनियमितता भएको अख्तियारको ठहर छ । सडक निर्माणका लागि आर्थिक वर्ष २०७६–०७७ मा गाउँपालिका र उपभोक्ता समितिबीच सम्झौता भएको थियो । जसअनुसार २०७६ चैत १७ गतेदेखि ०७७ असार २५ गतेभित्र कार्य सम्पन्न गर्नुपर्ने थियो । 

तर, लागत अनुमानबमोजिम काम नभई उल्टै बढी खर्चको प्राविधिक मूल्यांकनसहित नापी किताब एवम् कार्य सम्पन्न प्रतिवेदन स्वीकृत गरी भुक्तानी गरिएको अख्तियारले दाबी गरेको छ । उनीहरुविरुद्ध भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ८ बमोजिम दश लाख ८९ हजार ९८९ रुपैयाँ बिगो कायम गर्दै कैद र जरिवाना हुन मागदाबीसहित विशेष अदालत काठमाडौंमा आज मुद्दा दायर गरिएको हो ।

टिप्पणीहरू