बैंकको १८ किलो सुन कसले लुट्यो ?
गत भदौ २३ गतेको जेनजी प्रदर्शन र २४ गतेको विध्वंशमा सरकारी स्वामित्वको राष्ट्रिय वाणिज्य बैंक, बानेश्वर शाखामा लुटपाट भयो । भल्टमा राखिएको १८ किलो सुन लुटिएको हो । बैंकले धितोबापत लिएको एक सय किलो सुन १३ सय वटा भल्टमा राखेको थियो ।
त्यसमध्ये २५१ वटा भल्ट फोडेर सुन चोरी भयो । ऋणीले धितो राखेको १८ किलो सुन चोरी हुँदा ग्राहकको लकरमा भएको एक ग्राम पनि यताउता भएको छैन । जसले घटनालाई एकदमै शंकास्पद बनाएको बताइन्छ । चोरी भएको सुनको बजार मूल्य ३८ करोड रुपैयाँ हुन आउँछ । बैंकले सुन चोरीको घटना लुकाएको थियो ।
गर्भनर विश्व पौडेलले एक पोडकास्टमार्फत सुन चोरी भएको सार्वजनिक गरेपछि मात्र घटना बाहिर आएको हो । चोरी भएको दुई महिना बितिसक्दा पनि बैंक मौन छ । औपचारिक रुपमा कुनै जानकारी दिएको छैन । सुन लुटिएका व्यक्तिहरु दैनिक बैंकमा पुगेर रुँदै–कराउँदै फर्किने गरेका छन् । उनीहरुलाई बीमाबाट क्षतिपूर्ति दिने निर्णयसमेत हुन सकेको छैन ।
बैंकले धितोमा लिएको सुन मात्रै लुटिएको छ । धितोमा राखिएको सुनको बीमा हुन्छ भने लकरमा राखिएको बीमा गरिएको हुँदैन । चोरी गर्नेले पहिल्यै पहिचान गरेर सुन चोरेकोजस्तो देखिन्छ ।
यसकारण घटना शंकास्पद
बैंकको भल्ट सामान्य हतियारले फोड्न नसकिने विशेषज्ञहरु बताउँछन् । तर, राष्ट्रिय वाणिज्य बैंकको भल्ट भने ह्याम्मरले फुटाएको भेटिएको छ । मुख्य कुरा–बैंकले धितोमा लिएको सुन मात्रै लुटिएको छ । धितोमा राखिएको सुनको बीमा हुन्छ भने लकरमा राखिएको बीमा गरिएको हुँदैन । चोरी गर्नेले पहिल्यै पहिचान गरेर सुन चोरेकोजस्तो देखिन्छ । रोचक प्रसंग के भने, त्यहाँको सिसिटिभीसमेत चोरले लगेको छ । जसका कारण घटनाको कुनै फुटेज नै छैन ।
जिल्ला प्रहरी परिसर,काठमाडौंका सूचना अधिकारी प्रहरी उपरीक्षक (एसपी) पवनकुमार भट्टराईले बैंकले जाहेरी दिइसकेको बताए । उनका अनुसार सो घटनामा केही व्यक्ति पक्राउ परेर कारागार चलान भइसकेका छन् । जनआस्थासँग उनले भने,‘बैंकले जाहेरी दिएको छ । त्यो घटनामा पक्राउ परेकाहरु कारागार चलान भइसकेका छन् ।’
टिप्पणीहरू