अहिलेसम्म हिमालले जोगायो, अब हामीले जोगाऔं
फाेटाे स्राेत : छेंग सिआनचुन
म सानो उमेरदेखि हिमालहरू शाश्वत हुन्छन् भन्ने विश्वासमा हुर्केको हुँ । हिमालको मौनता नै शक्ति भन्ने लाग्थ्यो । हिमनदीहरू अडिग सत्य जस्तै । हिन्दूकुश हिमालय वरपर बसोबास गर्दै आएका धेरै जनझैँ, मैले पनि पहाडलाई भूगर्भीय संरचना मात्र होइन, नदी, वन र हाम्रो जीवनका अभिभावकका रूपमा हेर्दै आएको छु ।
आज ती मौन विशाल हिमश्रृंखला पहिलेभन्दा ठूलो आवाजमा बोलिरहेको भान भएको छ । हामीसँग अब उनीहरूको त्यो चित्कारलाई बेवास्ता गर्ने कुनै सेकेण्ड छैन।
यो वर्षको अन्तर्राष्ट्रिय पर्वत दिवसको नारा ‘हिमनदीहरू पानी, खाना र जीविकोपार्जनका लागि अत्यन्त महत्वपूर्ण छन्’ भन्ने रहेको छ । यो नाराले मलाई केवल व्यावसायिक हैसियतले मात्रै होइन, व्यक्तिगत रूपमा पनि अत्यन्त निकट अनुभव गराएको छ ।
हिमालय पर्वतका हिमनदीहरू सुन्दरता र साहसिकताको प्रतीक मात्र होइनन्, ती हाम्रा दैनिकीका संरक्षक हुन् । हाम्रा घरका धाराहरूमा खस्ने पानीदेखि खेतमा लगाइने बीउसम्म, जीवनका मूल स्रोतहरू यिनैले धानिरहेका छन्।
हिन्दूकुश हिमालय विश्वकै अमूल्य सम्पदा हो । आर्कटिक र एन्टार्टिकाबाहेक संसारकै सबैभन्दा धेरै हिउँ भण्डारण यो क्षेत्रमा हुने गरेको छ । ५४ हजारभन्दा बढी हिमनदी भएकाले यो विश्वमा रहेका कुल हिमनदीको करिब ९ प्रतिशत हो । यी हिमनदीहरू तल्लो भूभागका करिब दुई अर्बभन्दा बढी मानिसलाई खाद्य, पानी, ऊर्जा र जीविकोपार्जन उपलब्ध गराउँदै आएका दशवटा प्रमुख नदीको स्रोत हो ।
हाम्रो क्षेत्रका हिमनदीहरू आधारभूत पूर्वाधार पनि हुन् । यी प्राकृतिक पानीको ठूलो ट्यांकी भएकाले खानेपानी, कृषि उत्पादन, ऊर्जा सुरक्षादेखि मानवीय सुरक्षाको सुनिश्चित गरेको पाइन्छ ।
हिमालहरु आफैँले सीमा हेर्दैनन् । तर नदीहरू सीमा नाघेर बग्छन् । हिमनदीहरू राजनीतिक मानचित्रअनुसार पग्लिँदैनन्, यो वास्तविकता हो । विखण्डित कार्यहरु पर्वतीय क्षेत्रका लागि केवल अपर्याप्त मात्र होइन—खतरनाक पनि हो भन्ने बुझ्नुपर्छ ।
हिमनदी जोगाउनु भनेको केवल उनीहरूको भव्यतालाई जोगाउनु मात्र होइन, अर्थतन्त्र, संस्कृतिहरू र पुस्ताहरूको भविष्य सुरक्षित गर्नु पनि हो । तर ती छिटोछिटो लोप भइरहेका छन् । हिमनदी पग्लने क्रम पछिल्लो एक दशकमा ६५ प्रतिशतले बढिसकेको छ। यही दर कायम रहेमा यो शताब्दीको अन्त्यसम्म हिमालय क्षेत्रको ८० प्रतिशत हिउँ पग्लने अवस्था छ ।
पछिल्लो आँकडाले यो क्षेत्रमा लगातार तीन वर्षसम्म औसतभन्दा कम हिमपात भएको, वसन्तयामको हिउँ पनि तीव्र रुपमा पग्लँदै गएकाले वरपरको कृषि, जलविद्युत र मानिसको दैनिकीमा अवरोध उत्पन्न हुन थालेको छ । विशेषगरी कृषिबालीलाई चाहिएको बेलामा सिँचाइ अभाव, स्थानीयलाई खानेपानी अभावसँगै तल्लो भेगका अरबौं जनताले विपद्को संकेत पाउन थालेका छन् ।
तर तापक्रम बढेर हिउँ पग्लेको अवस्थालाई निराशाको रुपमा लिन हुँदैन । यो सन्दर्भमा मैले केही कुरामा असाधारण सहनशीलता पनि देखेको छु । तीमध्ये किसानहरूले जलवायु–स्मार्ट सिंचाइ अपनाउन थालेका र महिलाहरू समुदाय–आधारित पुनस्र्थापनामा अगाडि देखिएका मुख्य हुन् । युवाहरू ड्रोनमार्फत हिमताल नक्साङ्कन गरिरहेका छन् । विभिन्न मुलुकका सरकारले पनि हिमाललाई अब राष्ट्रिय दस्तावेजमा राष्ट्रिय प्राथमिकताका रूपमा उल्लेख गर्न थालेका छन्।
पर्वतीय क्षेत्रका समुदाय विनाशकारी परिवर्तनलाई दशकौँदेखि सहेर उभिँदै आएका छन् । अबको आवश्यकता पृथ्वीको तापक्रम बढ्दै गएको वास्तविकतालाई कम गर्ने र त्यसमा सामूहिक प्रतिवद्धतासहित लगानी गर्नु हो । यसका लागि आपसी सहयोग नै एक मात्र व्यवहारिक बाटो देखिन्छ ।
हिमालहरु आफैँले सीमा हेर्दैनन् । तर नदीहरू सीमा नाघेर बग्छन् । हिमनदीहरू राजनीतिक मानचित्रअनुसार पग्लिँदैनन्, यो वास्तविकता हो । विखण्डित कार्यहरु पर्वतीय क्षेत्रका लागि केवल अपर्याप्त मात्र होइन—खतरनाक पनि हो भन्ने बुझ्नुपर्छ । त्यसैले हिमाली भेगको भविष्य सीमापार, क्षेत्र–पार, पुस्ता–पार आपसी सहयोगमा निर्भर भइसकेको छ ।
यो केवल वातावरणीय विषय नभएर स्थिरता, सुरक्षा र शान्तिको प्रश्न बनेको छ । अझै समय भएकाले अहिले नै कदम चालौं । हामी दोबाटोमा उभिएका छैनौं र संकटपछि मात्रै प्रतिक्रिया जनाउँदैनौं भने भविष्य सुरक्षितका लागि सक्रिय लचिलोपन निर्माण गर्नुको विकल्प छैन ।
हिमनदीहरू द्रुत रूपमा बगेकाले कम्तीमा हाम्रा प्रतिक्रिया र प्रयासरुपी कार्य त्यो गतिभन्दा छिटो हुनुपर्छ । हिमालले हामीलाई धेरै कुरा सिकाएको छ । धैर्य, नम्रता, आँधीझैँ परिवर्तनका अगाडि उभिने शक्ति, र सबैभन्दा महत्वपूर्ण—सन्तुलन हो । अर्थात् आवश्यक मात्र लिने दायित्व र अनावश्यक फिर्ता दिने कर्तव्य।
यो वर्षको अन्तर्राष्ट्रिय पर्वत दिवसका अवसरमा ती शिक्षालाई मनन् गर्दै सम्मान गरौँ। म सम्बन्धित मुलुकका सरकार, विकास साझेदार, निजी क्षेत्र, अनुसन्धानकर्ता र नागरिक सबैलाई आह्वान गर्छु—पहाडलाई साझा जिम्मेवारीका रूपमा सम्झौं ।
हिमपर्वत जोगाउने सम्बन्धमा थप लचिलो बन्दै सबै पक्ष तत्काल लगानीका लागि तयार हुनुपर्ने अवस्था छ । क्रायोस्फियर (हिउँ–बरफ) संरक्षणमा विश्वस्तरको कोष र प्रतिबद्धता आवश्य भइसकेको छ । त्यसैगरी विभिन्न समुदायलाई जलवायु समाधानका मुख्य संरक्षकका रूपमा सशक्तिकरण गरेको अवस्थामा हिमनदी र नदी प्रणालीलाई शब्दमा मात्र होइन, व्यवहारमा संरक्षण गर्न सकिने अवस्था बन्ने छ ।
किनकि हिमनदी जोगाउनु भनेको हिउँ मात्रै जोगाउनु होइन, यो जीवन, जीविकोपार्जन, संस्कृति र सम्भावनाहरूलाई पनि जोगाउनु हो। हिमालहरूले हाम्रो जीवनलाई शताब्दीयौँदेखि धानिदिएका छन् । त्यसैले अब हाम्रो पालो भावी पुस्ताका लागि उनीहरूलाई सुरक्षित राख्ने जिम्मेवारी आएको छ ।
अन्तर्राष्ट्रिय पर्वत दिवसको शुभकामना ।
(लेखक अन्तर्राष्ट्रिय एकीकृत पर्वतीय विकास केन्द्र (इसिमोड) का महानिर्देशक हुन् )
टिप्पणीहरू