हाडनाता बिहे गर्ने भाइ जेलमा, दिदी ‘फरार’
नेपाली समाजमा यस्ता घटना पनि छन्, जुन सुन्दा जो–कोहीको आङ सिरिंग हुन्छ । तिहारमा टीका लगाएको भाइसँग दिदीको विवाह भयो भन्दा धेरैलाई पत्याउन गाह्रो होला । कानुनले नै हाडनाता सम्बन्धलाई बन्देज लगाएको छ । केहीबाहेक धेरैजसो समुदायमा आफ्नो वंशको सात पुस्तासम्मका सबै नातालाई हाडनाता मानिन्छ । जातीय समुदाय वा कुलमा चलिआएको चलनबाहेक हाडनातामा विवाह गरेमा कानुनबमोजिम दण्डको भागिदार बन्नुपर्छ ।
बर्सेनि टीका लगाइदिएको भाइलाई कुनै दिदीले कसरी आफ्नो श्रीमान् बनाउन सक्छिन् ? ती भाइले पनि दिदीलाई कसरी श्रीमती भन्न सक्लान् ? यस्तै प्रश्नबीच बुवाको आफ्नै भाञ्जी अर्थात् फुपूको छोरीसँग विवाह गरेको अभियोगमा एकजना जेल चलान भएका छन्् । दिदी भाइबीच विवाह गर्न मिल्दैन भन्ने थाहा हुँदाहुँदै पनि धर्म परिवर्तन गरेर वैवाहिक बन्धनमा बाँधिएकी दिदी भने फरार छिन् । प्रहरीले हाडनाता विवाह गर्ने र गराउनेलाई धुइँधुइँती खोजिरहेको बताएको छ।
चितवनको रत्ननगर नगरपालिका–१५, माधवपुरका रवीन्द्र खड्काले मकवानपुरको साविक मनहरी गाविस–९ घर भएकी दुर्गा थापासँग तिहारमा भाइटीका लगाउँदै आएका थिए । रवीन्द्रले उनलाई दिदी भनेर संबोधन गर्थे । सन् २०१५ मा आर.सि.आई कम्पनीमा काम गर्न रवीन्द्र दुबई गए । त्यतैबाट अष्ट्रेलिया छिरेका उनी पानीजहाज (क्रुज) कम्पनीमा काम गर्थे भनिन्छ ।
उनले चिनियाँँ क्रुज कम्पनीमा पनि काम गरेको निकटस्थहरू बताउँछन् । लामो समय विदेश बसेका उनको दुर्गासँग ‘कन्ट्याक्ट’ थिएन । दुवै आ–आफ्नो जीवनमा व्यस्त थिए । रवीन्द्रको बिहेबारी भइसकेको थियो । बुवाआमाकै मर्जीअनुसार मागी विवाह गरेका उनको सम्बन्ध घिटीघिटी अवस्थामा चलिरहेको थियो । श्रीमतीलाई बारम्बार आफैंसँग विदेश लैजान चाहे । पारिवारिक बेमेलका कारण उनी श्रीमती यहाँ नबसुन् भन्ने चाहन्थे । यद्यपि, उनले मानिनन् । एकाध वर्षमा स्वदेश फर्किरहने उनी आएको बेला चितवन जान्थे । यता, दुर्गा पनि वैदेशिक रोजगारीको सिलसिलामा इजरायलमा थिइन् । श्रीमान्सँग सम्बन्धविच्छेद गरेर बसेकी दुर्गा र रवीन्द्रबीच फेसबुकमा कुराकानी हुन थाल्यो ।
फेसबकुबाट नजिक आए । सामाजिक सञ्जालबाट बढेको निकटताले आज रवीन्द्रलाई जेल पु¥याएको छ । उमेरले रवीन्द्रभन्दा १२ वर्ष जेठी दुर्गा सन् २०१७ मा नेपाल आइन् । सन् २०१८ मा रवीन्द्र पनि फर्किए । तर, त्यतिबेला उनी घर जान पाएनन् । सिधै दिदीको घर गए । काठमाडौंको नागार्जुन नगरपालिका–१०, स्युचाटारस्थित दिदीको घरमा राम्रैसँग बस्न थाले ।
त्यहाँ श्रीमान्–श्रीमतीझैं बसिरहेको घरपरिवारमा कसैलाई पनि जानकारी थिएन । इसाई धर्म मान्दै आएकी दुर्गाले विवाह गरौं भनेपछि सन् २०१९ मा सीतापाइलास्थित एक चर्चमा गएर विवाह गरेको पारिवारिक सदस्यहरूको दाबी छ । उनीहरूको विवाह गराउने चर्चका पास्टर कमला तामाङ र शोभा तामाङ अहिले प्रहरीको फरार सूचीमा छन् ।
इसाई धर्मले दिदीभाइ नाता पर्नेलाई विवाह गर्न स्वीकृति दिएको भन्दै उनीहरूले विवाह बन्धनमा बाँधिदिएका हुन् । उता, रवीन्द्रकी श्रीमतीसँग सम्बन्धविच्छेदको प्रक्रिया चलिरहेको थियो । दुर्गाले पहिलो श्रीमतीसँग सम्बन्धविच्छेद गरेमा अंशबापतको केही रकम सहयोग गर्ने बताएकी थिइन् । रकम दिएपछि काठमाडौं जिल्ला अदालतमा गएर विवाह दर्ता गर्नुपर्ने प्रस्ताव राखिन् । रवीन्द्रले ७२ लाख रूपैयाँ दिएर सम्बन्धविच्छेद गरेको बताइन्छ ।
सम्बन्धविच्छेदपछि रवीन्द्र र दुर्गाले २०७८ कात्तिक २३ गते विवाह दर्ता गरे । रोचक प्रसङ्ग के देखिन्छ भने, आवश्यक डकुमेण्ट भेरिफाई नगरी अदालतले विवाह दर्ता गरिदिएको थियो । विवाह दर्ता गर्न स्थायी ठेगाना रहेको स्थानीय तहबाट अविवाहितको सिफारिस पत्र ल्याउनैपर्छ । वडाले बनाइदिएको सिफारिस पत्र पनि पेश गर्नुपर्छ । यसका साथै विवाहका लागि दुई जना साक्षी अनिवार्य चाहिन्छ ।
दुर्गाले नाता पर्ने दाजु–भाउजू कमलचन्द्र खड्का र देवकी हुमागाईं खड्कालाई साक्षी बनाइन् । उनीहरूविरुद्ध पनि जिल्ला प्रहरी परिसर, काठमाडौंमा जाहेरी परेको छ । सन् २०२२ मा रवीन्द्र दुबई गए । दुर्गाले उनलाई जानकारी नगराई यताको घर बेचिन् । त्यसपछि सीतापाइलाको पद्यम कोलोनीमा बस्न थालिन् । त्यहाँबाट सरेर बाफलमा फ्ल्याट लिएर बसिन् । बिलासी जीवन जिउन रुचाउने दुर्गाले आफूले कमाएको पैसा जथाभावी खर्च गरिदिएको रवीन्द्रले बयानमा भनेका छन् ।
रवीन्द्र दुबईबाट फर्किंदा उनी काठमाडौं महानगरपालिका–१५, संगमटोलस्थित अन्नपूर्ण चोकमा फ्ल्याट लिएर बसेकी थिइन् । त्यहाँ हुँदा पैसाको विषयमा दुवैबीच झगडा भइरहन्थ्यो । झगडा हुनेबित्तिकै दुर्गाले नातेदारलाई बोलाउँथिन् । दुर्गाका दाजुले चेलीबेटीसँग विवाह गर्ने ‘हाडफोरा’ लगायत अपशब्दको प्रयोग गर्दै फेसबुकमार्फत रवीन्द्रलाई गालीसमेत गरेको धेरैले देखेका थिए । दिदीसँग विवाह गरेपछि रवीन्द्र परिवारसँग टाढिए । कहिलेकाँही घरमा फोन गर्ने उनले बुवाआमालाई आफ्नो अनुहार देखाएका थिएनन् । उनी कहाँ छन् ? के गर्दैछन् ? अभिभावकलाई अत्तोपत्तो थिएन । २०८० कात्तिकमा तिहार मनाउन चितवन गए । रवीन्द्रका बुवाले अन्तैबाट छोराले दिदीसँग विवाह गरेको थाहा पाए ।
बुवाले दुर्गासँग हाडनाताको सम्बन्ध पर्छ भनेपछि उनी छाँगाबाट खसेझैं भए । एकै हाँगाबाट जन्मिएका दिदीभाइ रहेको कुरा दुर्गालाई जानकारी गराए । तर, उनी ‘केही हुँदैन’ भन्थिन् । यता, रवीन्द्रले उनीसँग छुट्टिन कानुन व्यवसायीसँग परामर्श गरिरहेका थिए । कानुन व्यवसायीको सल्लाहअनुसार एउटै फ्ल्याटको छुट्टै कोठामा बस्न थाले ।
सोही विषयमा दिनहुँ वादविवाद हुन थालेपछि रवीन्द्र त्यहाँ छाडेर साथीकहाँ पुगे । यता, दुर्गाले काठमाडौं जिल्ला अदालतमा जबरजस्ती करणीको मुद्दा दायर गरिन् । २०८० फाुगन ११ गते दायर मुद्दाको फैसला गत जेठ २ गते भएको छ । न्यायाधीश महेन्द्रराज काफ्लेले रवीन्द्रलाई सो मुद्दामा सफाइ दिएका छन् । उनले विवाह बदरको माग गर्दै अदालतमा देवानी मुद्दा दायर गरेका थिए । विवाह बदर भएको तीन महिनापछि दुर्गाले अंश माग गर्दै काठमाडौं जिल्ला अदालतमा मुद्दा दायर गरेकी छन् । सो मुद्दा विचाराधीन छ । चीन भ्रमणका क्रममा दुर्गाले रवीन्द्रलाई भाइ संबोधन गरेर अध्यागमनलाई लेखेको पत्रहरू पनि भेटिएको बताइन्छ ।
बहुविवाहको आरोपमा जेल चलान
काठमाडौं जिल्ला अदालतबाट जबरजस्ती करणीको मुद्दामा सफाइ पाएका रवीन्द्र बहुविवाहको आरोपमा चितवन जिल्ला कारागार चलान भएका छन् । नेपाल फर्किएपछि नमस्ते अनलाइन मिडिया चलाएका उनको त्यहीँ हुँदा सञ्चारकर्मी आशा भारतीसँग चिनजान भयो । आशालाई विदेश गएर सञ्चार क्षेत्रमा काम गर्ने रहर थियो । अदालतमा बलात्कारको मुद्दा चलिरहँदा रवीन्द्र भने क्यानाडा जानका लागि प्रोसेस गरिरहेका थिए । आशाले पनि उनीसँग क्यानाडा जानका लागि कागजी विवाह गरिन् । दुर्गाले चितवन जिल्ला अदालतमा बहुविवाहको मुद्दा हालिन् । दुवै जना पक्राउ परे । आशालाई केही दिन थुनामा राखेर छोडियो । रवीन्द्रलाई भने पुर्पक्षका लागि थुनामा पठाइएको छ ।
रवीन्द्रका बुवा लेखबहादुरले हाडनाता विवाह गर्ने र गराउनेविरुद्ध जाहेरी दिएका छन् । छोरा रवीन्द्र, भाञ्जी दुर्गा, पास्टर कमला र शोभा, देवकी, कमलचन्द्र, अधिवक्ता राजेश्वर अधिकारीविरुद्ध जिल्ला प्रहरी परिसर, काठमाडौंमा गत मंसिर १२ गते जाहेरी परेको छ । केही पक्राउ परिसकेका छन् भने फरार सबैको खोजी भइरहेको प्रहरीले जनाएको छ ।
यता अधिकारी हाजिरी जमानीमा छुटेका छन् । आशा आफूलाई ज्यान मार्ने धम्की आइरहेको बताउँछिन् । दुर्गा पक्षले आफूलाई धम्क्याएको उनको भनाइ छ । सुरक्षाको माग गर्दै मंसिर १८ गते जिल्ला प्रशासन कार्यालय, काठमाडौंमा निवेदन दिएपछि आफूलाई जिल्ला प्रशासनले सुरक्षा दिइरहेको उनले बताइन् ।
टिप्पणीहरू