बिचौलिया भट्ट बैंककतिर
सत्ताशक्तिलाई हातमा लिएर सरकारी सम्पत्तिमा लुट मच्चाउँदै आएका बिचौलिया दीपक भट्ट सिआइबी र सम्पत्ति शुद्धिकरणले घनिभूत छानविन चलाइरहेकै बेला थाइल्याण्डको राजधानी बैंकक पुगेको पाइएको छ । मंसिर १८ गते विदेश उडेका उनी ९ दिनपछि फर्किएका थिए । उनीसँगै मारवाडी व्यापारी उपेन्द्र हिरावत पनि त्यता गएको श्रोतले बतायो । बिए०००७९९१ नम्बरको राहदानी वाहक भट्ट र जेड ५६५६८०९ नम्बरको भारतीय राहदानी हिरावत सँगै थाइ एअरवेजको उडान नम्बर टिजी ३२० मा बैंकक गएका हुन् । मंसिर २७ गते उनीहरू उडान नम्बर टिजी ३१९ बाट स्वदेश फिर्ता भएको देखिन्छ ।
उपेन्द्र भारतीय नागरिक हुन् । उनका दाजु वीरेन्द्रले काठमाडौंको विशालबजारमा ब्राण्डेड कपडाको पसल चलाएका छन् । शशी खेतान वीरेन्द्रको सम्धी पर्छन् । लामो समयदेखि नेपालमा रहेका उपेन्द्र र दीपक व्यवसायिक साझेदार हुन् । दिपकले कसैबाट सिधै पैसा लिँदैनन् । स्रोतका अनुसार, उपेन्द्रले सबै काम मिलाउँछन् ।
स्रोत भन्छ, ‘भट्टले सम्बन्धित पात्रसँग उपेन्द्रलाई भेटाइदिन्छन् । बाँकी सबै काम उनले फत्ये गर्छन् ।’ उनीहरू हिसाबकिताब मिलाउनका लागि बैंककबाट दुबई वा सिंगापुर गएको हुनसक्ने स्रोतको अनुमान छ । स्रोतले अगाडि भन्यो, ‘यहाँबाट सिँधै जाँदा थाहा पाउँछ भनेर बैंकक रुट बनाएको हुनुपर्छ । उनीहरू कि दुबई गए कि त सिंगापुर ।’ नेपालका अधिकांश व्यापारीको कारोबार दुबईमा छ । उनीहरू त्यहाँको गोल्डेन कार्ड लिएर बसेका छन् । यहाँ कमाउँदै त्यता थुपारिरहेको अवस्था छ । भट्ट पनि त्यसै सूचीमा पर्छन् । वर्तमान समयका धनी र शक्तिशाली व्यापारीमध्ये भट्टको नाममा दर्जनौं कम्पनी छन् ।
सुरक्षा निकायको हातहतियार खरिददेखि ठूला हाइड्रो र सरकारी ठेक्कापट्टामा उनकै पकड छ । डडेल्धुराको दुर्गम गाउँमा जन्मिएका उनी छोटै समयमा धनी बनेका हुन् । राजनीतिक दलका नेताहरूलाई हातमा लिएर उनले धेरै सरकारी जग्गा कब्जा गरेका छन् ।
(जनआस्था साप्ताहिकको पुस २ गते बुधबारको अंकमा प्रकाशित)
टिप्पणीहरू