माओवादी अध्यक्ष ‘प्रचण्ड रिसोर्ट’ मा

माओवादी अध्यक्ष ‘प्रचण्ड रिसोर्ट’ मा

पूर्व प्रधानमन्त्री तथा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड सिन्धुपाल्चोकको सुकुटे पुग्नुभएको छ । भोलिबाट शुरु हुने भलिबल प्रतियोगिताको उद्घाटनका लागि उहाँ आज त्यता जानुभएको हो । 

अध्यक्ष प्रचण्डलाई माओवादी केन्द्रका नेताहरु अग्निप्रसाद सापकोटा, माधव सापकोटा, युवराज दुलाल, सरल सहयात्रीलगायतले स्वागत गरेका छन् । उहाँ आज सुकुटेस्थित ह्वाइट लिफ व्हाइट लिफ रिसोर्टमा बस्ने बताइएको छ । 

पारिवारिक तथा राजनीतिक तनावका बेला रिफ्रेस हुन प्रचण्डले उक्त रिसोर्ट रोज्दै आउनुभएको छ । थुप्रै पटक उहाँले त्यहिँ बसेर पार्टीका राजनीतिक दस्तावेज लेख्नुभएको थियो । त्यसक्षेत्रमा सुकुटे रिसोर्टलाई ‘प्रचण्ड रिर्सोट’ समेत भन्ने गरिएको छ । रिसोर्टका सञ्चालक माओवादी समर्थक महेन्द्रसिंह थापा हुन् ।  

रिसोर्टमै उहाँले आज पार्टीका स्थानीय नेता–कार्यकर्ता, जनप्रतिनिधि र सुरक्षा अधिकारीसँग बाढीपहिरो प्रभावित क्षेत्रको पुनर्निर्माणलगायतका विषयमा छलफल गर्नुभएको छ ।

सिन्धुपाल्चोक जिल्ला भलिबल संघ र सिन्धु सुकुटे पर्यटन व्यवसाय संघ सिन्धुपाल्चोकको संयुक्त आयोजनामा सातौंं महिला तथा आठौंं पुरुष राष्ट्रिय बीच भलिबल प्रतियोगिता भोलिदेखि हुँदैछ । आगामी शनिबारसम्म सञ्चालन हुने प्रतियोगितामा सात वटै प्रदेशका  पुरुष, महिला खेलाडी र विभागीय समूह नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीबाट एक महिला र एक पुरुष गरी ४० जना खेलाडीको सहभागिता रहने आयोजक संस्थाले जानकारी दिएको छ  । 

प्रतियोगितामा प्रथम, द्वितीय, तृतीय र सान्त्वना पुरस्कार क्रमशः ५० हजार, २५ हजार, १५ र १० हजार राखिएको छ । विजयी महिला र पुरुष दुबै खेलाडीलाई आगामी एक वर्षभित्र हुने हरेक अन्तर्राष्ट्रिय बीच भलिबल प्रतियोगितामा सहभागी गराइने सिन्धु सुकुटे पर्यटन व्यवसायी संघका अध्यक्ष तथा रिसोर्ट सञ्चालक थापाले जानकारी दिए ।

टिप्पणीहरू