कल्याणको संकेतले गर्‍यो होला र काम ?

कल्याणको संकेतले गर्‍यो होला र काम ?
सुन्नुहोस्

पूर्वप्रधानन्यायाधीश कल्याण श्रेष्ठ गत पुस १४ गते आइतबार पुख्र्यौली घर बाग्लुङबाट फर्केर पोखरा बाराही होटल नजिकैको अर्को एक होटलमा बास बसे । त्यस दिन राति कास्की प्रहरीको हिरासतमा रहेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति तथा पूर्वगृहमन्त्री रवि लामिछानेका सारथि दीपक बोहरालाई भेटे । जतिबेला लामिछानेको अदालती बयान सकिएर थुनछेक बहसको तयारी भइरहेको थियो । 

सूर्यदर्शन सहकारी ठगी प्रकरणमा गरमागरम बहस चलिरहेका बेला बोहरा श्रेष्ठलाई भेट्न होटलमै पुगेका थिए । बोहरा रास्वपाका सहकोषाध्यक्ष, रास्वपा सचिवालय सदस्य र लामिछानेका पिएसमेत हुन् । कतिपय लोकल मिडियाले श्रेष्ठले लामिछानेलाई हिरासतमै गएर भेटेको अपुष्ट समाचारसमेत प्रकाशन गरे । तर, श्रेष्ठले लामिछानेलाई भेटेको नभएर लामिछानेका मान्छेले भेटेकोचाहिँ पुष्टि भएको छ । श्रेष्ठनिकट कानुन समाजका कार्यकारी निर्देशक कृष्णमान प्रधान श्रेष्ठले हिरासतमै गएर लामिछानेलाई भेटेको विषय असत्य रहेको तर रास्वपाका बोहरासँग भेट भएको भन्दै आफू लामिछाने भेट्न गएको स्वीकारेका छन् ।

पुस ७ गते दर्ता भएको सहकारी ठगी, सम्पत्ति शुद्धीकरण र संगठित अपराध मुद्दामा पुस १६ बाट थुनछेक बहस हुँदै थियो । त्यसको ठीक दुई दिनअघि बोहराले श्रेष्ठलाई भेटेका हुन् । लामिछानेका दाहिने हात मानिने बोहरा रास्वपाको दूतका रूपमा श्रेष्ठलाई भेट्न होटल पुगेका थिए । दुर्गा प्रसाईंसँग मन्त्री बन्न अढाइ करोड बार्गेनिङ गरेर कारबाहीमा परेपछि रास्वपाबाट निश्कासित ढाकाकुमार श्रेष्ठले औँल्याएअनुसार लामिछानेको ‘कोर ग्रुप’ का मान्छे हुन् बोहरा ।

यसअघि समातिएका सबै जेलचलान भएको तर यही ठगी प्रकरणमा लामिछानेसहित सातै जना प्रतिवादी धरौटीमा छुटेपछि भनसुनको चर्चा महान्यायाधिवक्ता कार्यालयमा पनि चलेको छ । ‘आर्थिक चलखेल नै हो भनेर किटान गर्न त सकिँदैन, पछिको राजनीतिक लाभ हेरेर कल्याण श्रीमान् र नितिज श्रीमान्को मुखकान मिल्यो कि भन्ने ठाउँ छ,’ एक जना सरकारी वकिलको आशंका छ । 
 
 

टिप्पणीहरू