ग्यालेक्सीका पत्रकारले पाउलान् त पारिश्रमिक ?

ग्यालेक्सीका पत्रकारले पाउलान् त पारिश्रमिक ?
सुन्नुहोस्

सहकारी ठगीमा फरार गितेन्द्रबाबु उर्फ जिबी राई र प्रहरी हिरासतमा रहेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेको सुनौलो परियोजना ‘ग्यालेक्सी फोर–के टेलिभिजन’ का पत्रकारको पारिश्रमिक तथा सेवासुविधाको विषयमा आगामी १५ दिनमा छिनोफानो हुने भएको छ । श्रम तथा रोजगार कार्यालयले पारिश्रमिक तथा सेवासुविधाको माग गर्दै ग्यालेक्सीमा कार्यरत एक सय पत्रकारले दिएको निवेदनमाथि निर्णय सुनाउन लागेको हो । 
पुस २५ गते बसेको बैठकले पत्रकारसँग बाँकी पारिश्रमिक र सेवासुविधा स्पष्ट किटान गरी निवेदन माग गरेको छ । ग्यालेक्सीको आधिकारिक प्रतिनिधिलाई पटकपटक वार्तामा बोलाउँदा पनि उपस्थित नभएपछि निर्णय सुनाउने निश्कर्षमा पुगेको कार्यालयले जनाएको छ । ग्यालेक्सीमा कार्यरत बासु खड्कासहित ८७ जना पत्रकार पारिश्रमिक तथा सेवासुविधा माग गर्दै गत जेठमा श्रम कार्यालय पुगेका थिए । त्यसपछि शिखा श्रेष्ठसहित १३ जनाले निवेदन दिए । 
‘वार्तामा निवेदक पक्ष उपस्थित भए पनि व्यवस्थापन पक्षबाट कोही पनि नआएकाले द्विपक्षीय वार्ता हुन सकेन । उपस्थित निवेदक पक्षले व्यवस्थापन पक्षबाट कोही पनि उपस्थित नहुने, प्रतिष्ठान सञ्चालनमा पनि नरहेको, व्यवस्थापन पक्षको कोही व्यक्ति सम्पर्कमा आउन नमानेकोले वार्ता लम्ब्याउन आवश्यक नभएको, कार्यालयले आवश्यक निर्णय गरिदिनुपर्ने भनाइ राखेकाले सम्पूर्ण कर्मचारी (निवेदक) हरूको प्रतिष्ठानबाट पाउनुपर्ने सेवा–सुविधा स्पष्ट किटान गरी प्रमाण कार्यालयमा आएपछि आवश्यक प्रक्रिया अगाडि बढाउने गरी आजको वार्ता समाप्त गरियो’, पत्रमा उल्लेख छ । उनीहरूको पाँचदेखि सात महिनासम्मको तलब बाँकी छ । सहकारी ठगीको आरोपमा जिबी फरार र कुमार रम्तेल कारागार चलान भएपछि टेलिभिजनमा सामग्री उत्पादन बन्द छ । 

ताला खोल्ने तयारी, वडाले दिएन स्वीकृति

तीन वर्षअघि तामझामसाथ खोलिएको ग्यालेक्सी टेलिभिजन छोटो समयमै ठप्प बन्यो । रविले टेलिभिजन छोडेर राजनीतिमा हात हालेपछि जिबीले गरेको लगानी डुबेको छ । रविको लहैलहैमा लागेर सहकारीबाट मिडिया क्षेत्रमा आएका जिबीविरुद्ध ठगीको आरोपमा रेड कर्नर नोटिस जारी भइसकेको छ । यता, ग्यालेक्सीको कार्यालय बसेको घरमा घरधनीले ताला झुण्ड्याइदिएका छन् । 

घरधनीले बहालबापत झण्डै ३० लाख रूपैयाँ भुक्तानी लिन बाँकी छ । काठमाडौं महानगरपालिका ३, बालुवाटारस्थित कार्यालयमा ताला लगाएको लामो समय भइसकेको छ । विद्युत् प्राधिकरणले लाइन काटेको छ । कार्यालयबाहिर पार्क गरिएको गाडीमा घाँस उम्रिन थालेको छ । त्यहाँ भएको आधुनिक उपकरण बिग्रिएर बेकामे बनेको छ । 

उक्त घर ‘भूत बंगला’ जस्तै बनेपछि घरधनी मिगेन्द्रप्रसाद मिश्रले ताला फुटाउने तयारी गरेका थिए । तर, वडाले असहयोग गरेपछि नफुटाइएको स्रोतले बतायो । ‘वडाको रोहबरमा गत असारतिर ताला लगाइएको हो । विद्युतीय सामान लामो समयदेखि थन्किँदा बिग्रिने अवस्थामा पुगेको छ । घरधनीले ताला फुटाउने तयारी गरेका थिए । हामीलाई पनि बोलाएका थिए । तर, वडा कार्यालयले स्वीकृति नदिएपछि त्यो काम स्थगित भएको छ’, स्रोतले भन्यो । 
यता, वडा नम्बर ३ का वडासदस्य केशवप्रसाद श्रेष्ठले ताला फुटाउनेबारे कुनै जानकारी नआएको बताए । जनआस्थासँग भने, ‘मलाई त्यस्तो कुनै जानकारी आएको छैन । घरधनीले केही भन्नुभएको छैन ।’


 

टिप्पणीहरू