पहिचान र संमृद्धका लागि ‘स्वयम्भू महोत्सव’

पहिचान र संमृद्धका लागि ‘स्वयम्भू महोत्सव’

काठमाडौं महानगरपालिका वडा नम्बर १५ ले ‘स्वयम्भू महोत्सव’ आयोजना गर्ने भएको छ । आगामी फागुन १० देखि १७ गतेसम्म महोत्सव आयोजना गर्न लागिएको हो । 

स्थानीय व्यक्ति, समुदाय तथा साझेदारसँगको सहकार्यमा महोत्सव गर्न लागेको वडाध्यक्ष ईश्वरमान डंगोलले जानकारी दिए । उनका अनुसार महोत्सवमार्फत वडाका प्राचिन धार्मिक, सांस्कृतिक, पुरातात्विक तथा सामाजिक मठमन्दिर, चैत्य, गुम्बासहित मूर्त सम्पदा, संस्कृति, परम्पराको प्रवर्द्धन गर्ने लक्ष्य लिइएको छ । 

‘महोत्सवमा वडाले नेतृत्व लिएर थालेको कामबाट पहिचान र समृद्धिका कोणबाट दिगो लाभ प्राप्त गर्न व्यक्ति, समुदाय, निजी तथा सामाजिक क्षेत्र सबैको सहभागिताको अपेक्षा गरेका छौँ,’ उनले भने ।

महोत्सवले स्वयम्भूमा रहेका प्राचिन तर ओझेलमा परेका स्मारकहरुलाई पर्यटकीय स्थलका रुपमा विकास गर्न सहयोग पुर्याउने पनि विश्वास गरिएको छ । वडाध्यक्ष डंगोलका अनुसार महोत्सव भुइँखेल चौर र प्रदर्शनी धर्मचक्र पार्कमा हुनेछ । 

महोत्सवमा वडास्तरीय विपद् व्यवस्थापन, खोज उद्धार तथा पुर्नस्थापना प्रदर्शनीसँगै जीविकोपार्जन तथा क्षमता विकासका लागि वडाबाट तालिम लिएका व्यक्ति तथा संघसंस्थाले उत्पादन गरेका कौसी खेतीका तरकारी तथा फलफुल, ऊन तथा अन्य धागोबाट बनेका पहिरन तथा भेषभुषा पनि प्रदर्शन गरिनेछ । 

आफ्नै ऐतिहासिक र दार्शनिक पृष्ठभूमि भएको स्वयम्भू महाचैत्य स्थापनासँग मञ्जुश्रीको सम्बन्धका विषयमा जोडिएको एक महत्त्वपूर्ण स्मारक हो । शक्तिपीठहरुमा शोभा भगवतीको मन्दिर, तान्त्रिक विद्यामा आधारित विजेश्वरी मन्दिर, गीता मन्दिर सांस्कृतिक पर्यटनका सम्भावित स्थान हुन् । 

नेपाल संवतका प्रवर्द्धक शंखधर साख्वाःले बालुवा उठाउँदा सुन प्राप्त गरेर त्यँही सुनबाट किसानको ऋण मोचन गरिएको लखतीर्थ यस क्षेत्रको अर्को महत्वपूर्ण स्थान हो । व्यापारिक केन्द्र ठमेलको नजिक र आन्तरिक तथा बाह्य पर्यटक दुवैका लागि अवलोकन योग्य रहेपनि स्वयम्भूको अपेक्षित प्रवर्द्धन हुन नसकेकोले महोत्सवमार्फत ओझेलमा परेको यस क्षेत्रलाई पर्यटकीय स्थलका रुपमा विकास गर्ने उद्देश्य लिइएको वडाको भनाइ छ ।

टिप्पणीहरू