सरकारको जन्म र आयुबारे प्रचण्डको पुरानै दाबी

सरकारको जन्म र आयुबारे प्रचण्डको पुरानै दाबी
सुन्नुहोस्

प्रमुख प्रतिपक्ष दलका नेता माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले वर्तमान सरकारको आयु धेरै लामो नभएको दाबी गर्नुभएको छ । 

सरकार लामो समय नजाने बताउँदै आउनुभएका उहाँले आज पनि त्यहि कुरा दोहोर्याउनु भएको हो । सत्तारुढ दलभित्रै उकुसमुकुस बढिरहेकाले नीतिगतरुपमै सरकार अघि बढ्ने स्थितिमा नरहेको अध्यक्ष प्रचण्डको जिकिर छ । 

माओवादीलाई भने तत्काल सरकारमा जाने कुनै रुची नरहेको स्पष्ट पार्दै उहाँले भन्नुभयो, ‘यो सरकार धेरै अगाडि जाँदैन भनेर सुरुवाती चरणमा नै भन्दै आएको थिए, प्रधानमन्त्रीको पार्टीमा नै उकुसमुकुस भइरहेको छ । जुन ढ‍ंगले सरकारको जन्म भयो, त्यो लामो आयुको छैन ।’

यद्यपि, परिस्थितिले खोजेको उपयुक्त समयमा माओवादी र नेपाली कांग्रेसबीच सत्ता सहकार्य हुनसक्ने उहाँको संकेत छ । ‘चितवनमा सशांकजीहरुसँग भेट हुँदा जे कुरा भएको थियो, त्यो चाहिँ हुनसक्छ’, प्रचण्डले थप्नुभयो । 

प्रचण्ड र काँग्रेस पूर्वमहामन्त्री सशांक कोइरालाबीच मंगलबार भरतपुर विमानस्थलमा भेटघाट भएको थियो ।  त्यसक्रममा प्रचण्डले ‘कांग्रेस त हाम्राे पार्टनर हो’ भन्दा कोइरालाले ‘राजनीतिमा जे पनि हुनसक्छ’ भन्दै घुमाउरो समर्थन जनाएका थिए । छेवैमा रहेका अर्का नेता चन्द्र भण्डारीले पनि माओवादी र कांग्रेसबीच कुनै तुस नरहेको स्पष्ट पारेका थिए । 

पूर्व प्रधानमन्त्रीसमेत रहनुभएका प्रचण्डले विपक्षी दलले संसद बोलाउन दबाब दिएपछि सरकारले हिउँदे अधिवेशन आह्वान गरेको पनि दावी गर्नुभएकाे छ ।

 

टिप्पणीहरू