वामदेव गौतमलाई घरमै बस्न एमाले नेताको सुझाव

वामदेव गौतमलाई घरमै बस्न एमाले नेताको सुझाव
सुन्नुहोस्

नेकपा एमालेमा मिसिने तीब्र चाहना राखिरहेका वामपन्थी नेता वामदेव गौतमलाई सो पार्टीकी नेत्री उषाकिरण तिम्सेनाले त्यसो नगर्न सुझाव दिएकी छन् । 

आफैँ ६ महिना निलम्बनमा परेकी उनले वामदेवलाई एमालेमा नआउन सल्लाह दिएकी हुन् । सित्तैको सुझाव भन्दै उषाले राजनीति छोडेर बाँकी जीवन आफ्नै मर्जीमा बिताउन पनि भनेकी छन् । 

सामाजिक सञ्जाल एक्समा उनले लेखेकी छन्, ‘कमरेड वामदेव गौतमलाई नमागेको एउटा सुझावः सूर्य चिह्नमा प्रत्येक चुनावमा भोट हाल्ने र बुढेसकालतिर ढल्केको जिन्दगीलाई आफ्नै मर्जीमा चलाउने ।’

एमालेको उपाध्यक्ष पदबाट राजीनामा दिएर बाहिरिएपछि 'राष्ट्रिय एकता अभियान' चलाउँदै आएका वामदेव पुरानै घर फर्किन तयार छन् । तर, अध्यक्ष केपी शर्मा ओलीले 'भाउ' नदिँदा उनको रहर पुरा भएको छैन । 

यसैबीच उनलाई पार्टीमा भित्र्याउन ओली राजी भएको भनिएको थियो । तर, दुई दिनअघि बसेको एमाले सचिवालय बैठकले पार्टीमा नल्याउने निर्णय गरेपछि उनको स्थिति 'घर न घाट' को हुन पुगेको छ । 

आफूखुसी एमालेमा मिसिने निर्णयप्रति असहमति जनाउँदै बहुमत नेताले 'राष्ट्रिय एकता अभियान' छोडेकाले वामदेव फेरि 'अलपत्र' परेका हुन् ।

 

टिप्पणीहरू