कृषि समितिकी सभापति र रास्वपा सांसदबीच चर्काचर्की
प्रतिनिधि सभाको कृषि, सहकारी तथा प्राकृतिक स्रोत समिति बैठकमा सभापति कुसुमदेवी थापा र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सांसद विनिता कठायतबीच चर्काचर्की परेको छ । हिजो बसेको बैठकमा दुई जनाबीच भनाभन भएको हो । सांसद् कठायतले बैठकमा पुस २७ र २८ गते भएकोे ‘पोखरा भ्रमण’ को प्रसङ्ग निकालेकी थिइन् । सो विषय उठाएपछि विवाद सिर्जना भएको हो । समितिको महत्वपूर्ण बैठकमा ‘सभापति–सदस्य’ भिडिरहँदा अन्य सांसद भने मौन थिए ।
स्रोतका अनुसार पुस २८ गते भएको ‘पोखरेली साँझ’ मा कठायतमाथि सांसदहरुबाटै ‘ह्यारेसमेण्ट’ भएको थियो । उनले सोही कुरा सुनाउन खोज्दै थिइन् । सभापति थापाले बीचमै रोकेर मूल विषयवस्तुमा प्रवेश गर्न आग्रह गरिन् । तर,कठायत रोकिनन्,गुनासो पोखिरहिन् । सभापतिले पुनः रोक्न खोजेपछि उनले रिसाउँदै भनिन्,‘तपाईंले मलाई पेल्न खोज्नुभएको हो ? मैले आफ्नो कुरा राख्न पाउनुपर्छ सभापतिज्यू !’ त्यसपछि सभापतिले झोक्किँदै भनिन्,‘विषयवस्तुमा प्रवेश गर्नुहोस् ।’
लगत्तै रास्वपा सांसद कठायतले थपिन्,‘त्यसो भए कहाँ बोल्न जानु यस्तो कुराहरु ? समितिमा भएको कुरा हो सभापतिज्यू !’ सभापतिले तत्कालै प्रश्न गरिन्,‘तपाईंलाई त्यत्तिकै ह्यारेसमेण्ट गर्न खोजे होलान् ? तपाईंको कुरा छैनन् ?’ विवाद बढ्दै गएपछि कठायतले चर्किँदै भनिन्,‘मैले अब भन्नैपर्ने हो त ? कुन हालतमा, के स्थितिमा त्यहाँ के बोल्नुभएको थियो भनेर ?’ कठायत चर्को स्वरमा चिच्याइरहँदा समितिको बैठकमा सहभागी अन्य सांसदहरु लगभग चुपचाप देखिन्थे । एकाध काँग्रेसी सांसद बीचमा बोल्न खोजिरहेका थिए । तर, उनी रोकिइनन् ।
मैले अब भन्नैपर्ने हो त ? कुन हालतमा, के स्थितिमा त्यहाँ के बोल्नुभएको थियो भनेर ?’
त्यसपछि उनले गम्भीर विषय उठाइन् । ‘एनजिओ’ को पैसामा अनुगमनमा जाँदा रक्सी खाएर ‘जे पायो त्यही बोलेको’ र रास्वपा सांसदमाथि ‘ह्यारेसमेण्ट’ को आरोप लगाइन् । उनले सांसद सुमना श्रेष्ठमाथि लगाएको आक्षेपको प्रसङ्ग पनि निकालिन् । ‘सुमना श्रेष्ठले कति जनासँग बिहे गर्यो भन्ने तपाईंहरुको सरोकारको कुरा हो ? सोबिता गौतमले के बोल्यो भनेर तपाईंहरुको सरोकारको कुरा हो ? राष्ट्रिय स्वतन्त्र पार्टीले के गर्छ भन्ने तपाईंहरुको सरोकारको विषय हो ?’,उनले असन्तुष्टि पोखिन् ।
खबरदारी गर्दै भनिन्,‘यो समितिमा भएको कुरा हो ? समितिको अनुगमनमा भएको कुरा हो ? तपाईंले मलाई पेल्न खोज्ने ? त्यहाँनेर रक्सी खाएर तपाईंहरुले जे पायो त्यही बोल्न मिल्छ ? सुमनाले कति जनासँग बिहे गर्यो, तपाईंहरुको सरोकारको कुरा हो ? तपाईंहरुले निर्णय गर्नुहुन्छ ? उहाँहरुलाई देश निकाला गर्ने भनेर ? के गरेको छ त्यस्तो देश निकाला गर्नलाई ? तपाईंहरुले बोलेको एकएक कुरा छ यहाँनेर सभापतिज्यू ?’
त्यस्तै, उनले अनुगमनमा निस्किएका प्रसङ्गहरुमा आफ्नो गम्भीर आपत्ति रहेको बताइन् । उनले आफ्नो पार्टीको विषयमा सरोकार नराख्न पनि चेतावनी दिएकी छिन् ।
टिप्पणीहरू