अख्तियारलाई हर्कको जवाफ- मुहानबाट धरानसम्म पाइप गन्न आउनू
सामाजिक सञ्जालमा अन्टसन्ट लेखेर चर्चा र विवादमा आइरहने धरान उपमहानगरपालिकाका मेयर हर्कराज राई साम्पाङले आफूविरुद्ध अख्तियारमा परेको उजुरीबारे व्यंग्यात्मक टिप्पणी गरेका छन् ।
खानेपानी आयोजना निर्माणमा अनियमितता गरेको भन्दै अख्तियारले पत्र काटेपछि उनले आफ्नै पारामा जवाफ फर्काएका हुन् । आज अख्तियारको ईटहरी कार्यालयलाई पत्र लेख्दै मेयर हर्कले धरानको खानेपानी समस्याप्रति संघ र प्रदेश सरकार संवेदनशील नभएको आरोप समेत लगाए ।
'बिहान उठ्नेबित्तिकै ट्वाइलेट जानुपर्छ । ट्वाइलेटमा पानी छैन भने के हुन्छ, त्यो भनिरहन पर्दैन होला । केही छिनपछि भात पकाउनु परो । भात पकाउन पानी चाहिन्छ । भात खाएपछि हातमुख चुठ्नु परो, त्यसको लागि पनि पानी चाहिन्छ । जुठोभाँडा लडाइराख्न मिलेन धुनै परो त्यसको लागि नि पानी नै चाहिन्छ । फोहोर लुगा लगाएर भएन धुनै परो । लुगा धुन नि पानी नभैनहुने’, अख्तियारलाई उनको जवाफ छ ।
हरेक कामका लागि पानी आवश्यक पर्ने तर पानी अभावका कारण धरानको खानेपानी बोर्डको स्वायत्त अधिकार प्रयोग गरेर आर्थिक र भौतिक सहायतामा श्रमायोजना चलाइरहेको हर्कले बताएका छन् । केन्द्र सरकारलाई कोशीबाट पानी ल्याइदिन वर्षौ बिन्ति बिसाउँदा पनि नसुनेकोले थोत्रे गाग्री लिएर सिंहदरबार पुगेको सन्दर्भ पनि उनले पत्रमा जोडेका छन् ।
सप्तकोशीबाट पानी ल्याउन असम्भव भएपछि कोकाहा खोलाको पानी ४२ किलोमिटर टाढाबाट भीर पाखा, डाँडाकाँडा, झोर जंगल, खोला खोल्सी, उकाली ओराली, भंज्याङ चौतारी, छिचोल्दै घुमाउँदै, लड्दै पड्दै, नाच्दै गाउँदै बिजोग रमाइलो गरेर ल्याइरहेको उनको भनाइ छ ।
'कोकाहा खोलाको पानी ४२ किलोमिटर टाढाबाट भीर पाखा, डाँडाकाँडा, झोर जङ्गल, खोला खोल्सी, उकाली ओराली, भंज्याङ चौतारी छिचोल्दै घुमाउँदै घुमाउँदै... घुमाउँदै घुमाउँदै ... घुमाउँदै घुमाउँदै ..... घुमाउँदै घुमाउँदै लड्दै र पड्दै... तान्यो ... तान्यो... एक्छिन है ... बिस्तारै सुल्काउँ है ... भन्दै... ओहोइ भनुं त... भन्दै घरी घरी नाच्दै र गाउँदै पनि... बिजोग रमाइलो गरी ल्याउँदैछौ है ल्याउँदैछौं’, संवैधानिक निकायलाई उनले लेखेको औपचारिक पत्रमा उल्लेख छ ।
अहिले कोकाहा खानेपानी श्रमायोजना-२ चलिरहेको अवगत गराउँदै मेयर हर्कले कुनै दिन मुहानबाट धरानसम्म हिँड्दै हिँड्दै पाइप गन्न र प्रोजेक्ट हेर्न आउन अख्तियारलाई कटाक्षपूर्ण आग्रह पनि गरेका छन् । साथै, उजुरी दिने व्यक्तिले कति वटा पाइप किनेर दियो ? कति दिन श्रमदान गर्यो ? लेखिपठाउन पनि उनको अनुरोध छ ।
राज्यको ढुकुटी खर्चेर बनाएको मेलम्ची, दमक टावर, एनसेल, वाइडवडीजस्ता कुरातिर नलागेर श्रमदान अभियानको खेदो खनेको भन्दै हर्कले पानीमाथि राजनीति गर्न सल्लाह दिएका छन् ।
टिप्पणीहरू