ललितपुरमा साप्ताहिक ट्राफिक सचेतना (फोटोफिचर)
ललितपुर महानगरपालिकाले साप्ताहिक ट्राफिक सचेतना कार्यक्रम शुरु गरेको छ । ‘सडक सुरक्षा, जीवनको रक्षा’ भन्ने नाराका साथ महानगरले आजबाट कार्यक्रम शुभारम्भ गरेको हो ।
बिहान जावलाखेल परिसरबाट महानगरका मेयर चिरिबाबु महर्जनले ट्राफिक सन्देशमूलक प्लेकार्ड देखाउँदै कार्यक्रमको उद्घाटन गरे । उनले ट्राफिक सचेतना र जीवन रक्षाको निम्ति ट्राफिक सप्ताह शुरु गरिएको बताए ।
ट्राफिक नियम पालना गराउन र जाम हुने स्थिति कम गर्न महानगरले काम गरिरहेको दाबी गर्दै मेयर महर्जनले भने, ‘हालसालै हामीले इन्टिलिजेन्ट ट्राफिक लाइटको स्थापना गरेर सञ्चालनमा ल्यायौं । सञ्चालनमा ल्याउँदै गर्दा त्यो निकै कठिन काम थियो । हामीले प्राविधिक काम गरेपछि यसलाई कार्यान्वयन गर्ने सन्दर्भमा अलिकति साह्रोगाह्रो पर्यो । तर, अब यो ट्राफिक लाइट २४ घण्टा, ३६५ दिन अनवरत, अविछिन्न र श्रृखंलाबद्ध तवरले बलिरहन्छ । कहिले पनि निभ्दैन ।’
भीआईपीहरुको सवारी हुँदा समेत इन्टिलिजेन्ट ट्राफिक लाइट समान तरिकामा सञ्चालन हुने उनको भनाइ छ । ‘भीआईपीहरुको सवारी हुँदा ट्राफिक लाइट बिग्रारिन्छ । जसका कारण आम नागरिकले कुर्नुपर्ने बाध्यता रहिआएको छ । तर, यो ट्राफिक लाइटमा यस्तो हुँदैन । भीआईपीको सवारीका निम्ति सिस्टम बिगार्ने कार्य कदापि स्वीकार्य छैन,’ मेयर महर्जनले भने ।
अर्को वर्षदेखि ट्राफिक लाइट थप्ने योजना रहेको जानकारी गराउँदै उनले ट्राफिक लाइट र सडक बत्ती नहुँदा दुर्घटना हुने गरेकोले यसमा लगानी बढाएको बताए । महानगरले कुसुन्तीमा लिफ्ट जडानसहितको पुल निर्माण गर्दैछ । मेयर चिरिबाबुले धोवीघाट र पाटन अस्पतालअगाडिको सडकमा पनि लिफ्टसहितको पुल निर्माणका लागि डिजाइन तयार भइसकेको जानकारी दिए ।
‘म मेयर भएदेखि कुसुन्तीमा लगभग २२ जनाले सडक दुर्घटनामा ज्यान गुमाउनु भइसकेको छ । धोवीघाट, कीर्तिपुर जाने चक्रपथमा लगभग ३२ जनाले ज्यान गुमाइसक्नुभयो । कारण न ट्राफिक लाइट छ न सडक बत्ती । ट्राफिक लाइट र सडक बत्ती नभएकै कारण ठूलो जनधनको क्षति भएको हामीसँग तथ्याङ्क छ । तसर्थ, अहिले हामीले कुसुन्तीमा अपांगतामैत्री पुल बनाउँदैछौं । तीन–चार महिनामा यो पुल बनिसक्ने छ । धोवीघाटमा पनि पुल निर्माणको डिजाइन फाइनल भइसकेको छ', उनले भने, 'अर्को महत्त्वपूर्ण पाटन अस्पतालमा हो । त्यहाँको सडक निकै जोखिमपूर्ण भएकाले हामीले त्यहाँ पनि लिफ्टसहितको पुल निर्माण गर्न तयारी थालिसक्यौं ।'
कार्यक्रममा काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) विनोद घिमिरेले सडक दुर्घटनाका कारण मंसिरमा १७ र पुसमा २० जनाको ज्यान गएको बताए । उनका अनुसार दुर्घटनामा मृत्यु हुनेमा सबैजसो दुई पाङ्ग्रे सवारी चलाउने छन् ।
दुर्घटना न्यूनीकरणका निम्ति ट्राफिक प्रहरीले लगातार काम गरिरहेपनि नागरिक स्वयं पनि जिम्मेवार हुन आवश्यक रहेको उनको भनाइ छ । ‘हामी ट्राफिक नियमबारे भन्छौं तर आफैं पालना गर्दैनौं । त्यसैले, अब सभ्य नागरिक बनौं र सभ्य समाज बनाऔं,’ एसएसपी घिमिरेले भने ।
कार्यक्रममा ललितपुरका प्रमुख जिल्ला अधिकारी रमेश ढकाल, जिल्ला प्रहरी परिसर ललितपुरका प्रमुख श्यामकृष्ण अधिकारीसहित महानगर प्रहरी बलका कर्मचारी तथा विद्यार्थीहरु पनि सहभागी भएका थिए । सप्ताह कार्यक्रममा विद्यार्थी, नगर प्रहरी, ट्राफिक प्रहरीलगायतले जनचेतनामूलक प्लेकार्ड सडकमा देखाउने छन् ।
टिप्पणीहरू