रास्वपा सांसदलाई चाहियो होटलको सिसिटिभी फुटेज, खर्च विवरण पनि माग
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सांसद विनिता कठायतले पोखरास्थित होटल ओपन हाउसको सिसिटिभी फुटेज झिकाउन माग गरेकी छन् ।
आज प्रतिनिधिसभाको कृषि,सहकारी तथा प्राकृतिक स्रोत समितिमा लिखित निवेदन दिदैँ उनले समितिका सदस्यहरु बसेको सो होटलको पुस २९ गतेको सिसिटिभी रेकर्डसहित खर्च विवरणको बिल-भर्पाइ झिकाउन माग गरेकी हुन् ।
गत बुधबार बसेको समितिको बैठकमा सभापति कुसुमदेवी थापा र सांसद कठायतबीच नोकझोक चलेको थियो । अनुगमनका क्रममा उक्त होटलमा बसेका बेला आफूमाथि ‘ह्यारेसमेन्ट’ भएको र एनजिओको रक्सी खाएर रास्वपा नेताहरुको नीजि जीवनबारे चर्चा गरेको उनले दावी गरेकी थिइन् ।
तर, अनुगमनको क्रममा सँगै रहेका समितिका अन्य सदस्यहरुले भने कठायतको भनाईमा कुनै सत्यता नरहेको दावी गर्दै आएका छन् । यहीबीच उनले ‘पोखरा साँझ’को चुरो कुरो सार्वजनिक गर्न माग गर्दै समितिको सचिवालयमा निवेदन दर्ता गराएकी हुन् ।
'अनुगमन भ्रमणको सन्दर्भमा पुस २९ गते समिति सदस्य बसेको होटल ओपन हाउस पोखराको राति ८ देखि १० बजेसम्मको सिसिटिभीको फुटेज तथा उक्त दिन भएको खर्च विवरणको बिल भर्पाइ झिकाई उपलब्ध गराउन अनुरोध गर्दछु’, निवेदनमा भनिएको छ ।
स्रोतका अनुसार उक्त दिन होटलमा ‘दारु पार्टी’ चलेको थियो । जहाँ सभापति थापासहित एमालेकी सांसद सरस्वती सुब्बा र नेपाली काँग्रेसका सांसद वीरबहादुर बलायरले मदिरापान गरेका थिए ।
माओवादी केन्द्रकी सांसद रुपा सोशी चौधरी र सांसद कठायत भने छेउमा हट–लेमन पिएर बसेको स्रोत बताउँछ । यत्तिकैमा एक सांसदले रास्वपाको प्रसंग निकाल्दा सुब्बाले ‘ठग पार्टीको के कुरा गर्नु ?’ भन्दै जवाफ फर्काएपछि विवाद भएको बताइएको छ ।
टिप्पणीहरू