राप्रपा सुन्दरीहरुको प्रतिस्पर्धा : तँ भन्दा म के कम ?

राप्रपा सुन्दरीहरुको प्रतिस्पर्धा : तँ भन्दा म के कम ?
सुन्नुहोस्

राष्ट्रिय प्रजातन्त्र पार्टीको केन्द्रीय कमिटी बैठकमा दुई नेतृबीच आरोप–प्रत्यारोप चलेको छ । माघ ११ र १२ गते सम्पन्न बैठकमा केन्द्रीय सदस्यद्वय खुश्बु ओली र रेखा थापाबीच खुलमखुला कटाक्ष चलेको तथ्य बाहिरिएको छ ।

अभिनेत्रीसमेत रहेकी रेखा पछिल्लो समय पार्टी अध्यक्ष राजेन्द्र लिङ्देनसँग रुष्ट देखिन्छिन् । गत वर्ष श्रीमानसहित अमेरिका गएको बेला अध्यक्ष लिङ्देनले ‘नानी जन्माउन विदेश गएको’ भनेर टिप्पणी गरेपछि रेखाले पनि उतैबाट जवाफ फर्काएकी थिइन् । ‘देशको माया हुनेहरुले आफ्नो सन्तालाई फिर्ता बोलाए हुन्थ्यो, किन अमेरिकामा राखेको ?’ उनको जवाफ थियो । रेखाको जवाफपछि लिङ्देनकी छोरी अमेरिकामा अध्ययनरत रहेको सबैले थाहा पाएका हुन् ।

त्यसयता अध्यक्ष लिङ्देन र रेखाको सम्बन्ध खासै राम्रो नभएको पार्टीकै नेताहरु बताउँछन् । यसबीच रेखाले केन्द्रीय कमिटी बैठकमा अध्यक्ष लिङ्देनको नेतृत्व क्षमतामाथि प्रश्न उठाउँदै आफूमाथि गरेको टिप्पणी कोट्याइन् । महामन्त्री धवलशमशेर राणाको फरक मतसँग सहमति जनाउँदै उनले अध्यक्षमाथि प्रश्नको वर्षा गराएको बैठकमा सहभागी एक उपाध्यक्षले जानकारी दिए । 

रेखाले अध्यक्ष लिङ्देनकै कारण पार्टी झन् कमजोर हुँदै गएको, पार्टीका विभागहरुमा आफूखुशी सदस्य मनोनित गरेको, पार्टीकै नेतामाथि जथाभावी टिप्पणी गरेकोलगायत आरोप लगाएकी थिइन् । भाषणको क्रममा रेखाले ‘म बच्चा जन्माउन अमेरिका जाउँ कि बेलायत जाउँ, त्यो मेरो निजी इच्छा हो, तर पार्टी नेतृत्वले त्यतिबेला दिएको अभिव्यक्ति निकै दुःखद् र अनपेक्षित थियो’ भनेको ती उपाध्यक्षले सुनाए । 

त्यसपछि विचार राख्ने पालो पाएकी अर्की नेतृ खुश्बुले भने रेखाकै आलोचना गरेको पनि ती उपाध्यक्षको भनाइ छ । उनले पार्टीमा ‘अनुहार नदेखाउने अनि नेतृत्वमाथि जथाभावी आरोप लगाउने प्रवृत्ति राम्रो हैन’ भन्दै रेखामाथि कटाक्ष गरेकी थिइन् । पार्टीको प्रशिक्षण विभाग उप प्रमुखसमेत रहेकी खुश्बु अध्यक्ष लिङ्देनको समर्थन गर्दै रेखामाथि खनिएपछि बैठकमा सहभागी नेताहरु कानेखुशी गर्न थालेका थिए । 

प्रहरी इन्काउन्टरमा मारिएका दिनेश अधिकारी उर्फ चरी डनकी प्रेमिकासमेत रहेकी खुश्बु पछिल्लो समय राप्रपामा सक्रिय छिन् । उनी अध्यक्ष लिङ्देननिकट रहेर पार्टीको गतिविधिमा संलग्न हुँदै आएकी छन् । 

रेखा भने २०७३ सालमा राप्रपा प्रवेश गरेकी हुन् । २०७८ मंसिरको पार्टी महाधिवेशनमा उनी अध्यक्ष लिङ्देनकै प्यानलबाट महिला महामन्त्रीको उम्मेद्वारसमेत बनिन् । अध्यक्षमा लिङ्देनलाई जिताउन रेखाले पूर्ण सहयोगसमेत गरेकी थिइन् । उतिबेला लिङ्देनले रेखाको लोकप्रियतालाई राम्रै प्रयोग गरेको तर पछिल्लो समय खासै प्राथमिकता नदिएको बताइन्छ । 

अध्यक्षले रेखालाई ‘चलचित्रकी अभिनेत्री’ भन्दा बढी देख्न नसकेको कारण अहिले सम्बन्धमा दरार आएको एकथरी कार्यकर्ताको बुझाई छ । उनीनिकट एक नेताका अनुसार पार्टीको आगामी महाधिवेशनमा रेखाले अध्यक्षमा (हालका महामन्त्री) राणालाई सहयोग गर्ने बताइसकेकी छन् । ती नेता भन्छन्, ‘राप्रपाको वर्तमान नेतृत्व (लिङ्देन)लाई स्थापित गर्न उहाँ (रेखा)को ठूलो हात छ । महाधिवेशनअघि रेखाजीको क्रेजलाई पार्टीले राम्रै प्रयोग गरेको हो, यसमा कुनै द्विविधा छैन । तर पछिल्लो समय त्यहि नेतृत्वले उहाँलाई एक सामान्य कलाकारशिवाय खासै अर्थपूर्ण रुपमा लिएन । त्यसैले अहिलेको अवस्था आएको हो ।’

 

टिप्पणीहरू