‘केपी ओली महाराजा हुन् र ?’ भनेपछि नेपालगञ्जमा बबाल

प्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओलीमाथि बढिरहेको जनआक्रोश रोक्न एमाले पंक्तिलाई दबाब पर्न थालेको छ । सरकार र पार्टी नेतृत्वविरुद्ध सडक तथा सामाजिक सञ्जालबाट विरोध भइरहँदा त्यसको व्यवस्थित र योजनाबद्ध प्रतिवाद गर्ने नीति एमालेले लिएको देखिन्छ । यसैबीच गत पुस २१, २२ र २३ गते सम्पन्न केन्द्रीय कमिटी बैठकले सार्वजनिक कार्यक्रमसम्बन्धी एक वर्ष पूरानो मापदण्डलाई तादरुकताका साथ कार्यान्वयन गर्ने निर्णय गरेको यथार्थ पनि खुलेको छ ।
गत वर्ष साउनको सचिवालय बैठकले पार्टी र भ्रातृ संगठनले आयोजना गर्ने कार्यक्रमको ब्यानरमा अध्यक्ष ओलीको तस्बिर अनिवार्य प्रयोग गर्नुपर्नेसहित पाँच बुँदे मापदण्ड जारी गरेको थियो । उक्त मापदण्डभित्र रहेर मात्र कार्यक्रम गर्न एक साताअघि पार्टी पंक्तिलाई आन्तरिक सर्कुलर भइसकेको अवस्थामा नयाँ लफडा उब्जिएको हो ।
तर, सार्वजनिक कार्यक्रममा अध्यक्ष ओलीको तस्बिर अनिवार्य प्रयोग गर्न केन्द्रले निर्देशन दिएको एक हप्ता नपुग्दै लुम्बिनी प्रदेशमा भने त्यहि कुराले कलह शुरु भएको छ । अध्यक्ष तथा प्रधानमन्त्री ओलीको तस्बिर नझुन्ड्याई प्रदेश कमिटीको बैठक राखेपछि पार्टीभित्रको दुई गुट आमनेसामने भएको बताइन्छ ।
बाँकेको नेपालगञ्जमा हिजो र अस्ति प्रदेश कमिटीको चौथो पूर्ण बैठक आयोजना गरियो । तर, बैठकस्थलमा झुन्ड्याइएको ब्यानरमा अध्यक्ष ओलीको तस्बिर नदेखेपछि महासचिव शंकर पोखरेल निकटस्थ कमरेडहरुले निको मानेनन् । उनीहरुले पार्टीको निर्देशन अटेर गरेको भन्दै प्रदेश अध्यक्ष राधाकृष्ण कँडेलमाथि कारबाहीको माग राखेका हुन् ।
कारबाही माग गर्नेहरुमा भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रीसमेत रहेका शंकर पक्षीय नेता बलराम अधिकारी, राष्ट्रिय सभा उपाध्यक्ष विमला घिमिरे, भूमि आयोगका अध्यक्ष तथा पार्टी प्रदेश अध्यक्षमा पराजित हरिप्रसाद रिजाल, शान्ता चौधरी, खेममान खड्का, कुमार दशौदीलगायत रहेको स्रोतको दावी छ ।
बैठकस्थलबाट नेता खड्काले भूमिमन्त्री अधिकारीलाई फोन गरेर ब्यानरमा अध्यक्षको फोटो नराखेको बारे रिपोर्टिङ गरिरहेका बेला नजिकै रहेका लिला गिरीले 'केपी ओली महाराज हुन् र फोटो राख्नै पर्ने ?' भन्दै आक्रोश पोखेका थिए । त्यतिखेर प्रदेश इञ्चार्ज तथा पार्टी सचिव पद्मा अर्याल मञ्चमा बसेर उनीहरुको कुरा सुनिरहेकी थिइन् ।
यो घटनलाई अध्यक्ष केपी ओली नजिकका नेताहरुले प्रतिष्ठाको विषय बनाएकाले अनावश्यक विवाद चर्किएको एकजना प्रदेश पदाधिकारीले बताए । अहिले मन्त्री अधिकारी र राष्ट्रिय सभा उपाध्यक्ष विमला प्रदेश अध्यक्ष कँडेललाई कारवाही गराउन भित्रभित्र रहेको र एक-दुई दिनमै उनीमाथि स्पष्टीकरण सोधिन सक्ने उनको अनुमान छ ।
ब्यानरमा फोटो नराखेको निहुँमा प्रदेश अध्यक्ष कँडेलमाथि महासचिव निकटस्थहरु खनिएपछि उपाध्यक्ष विष्णु समर्थक पूर्व मुख्यमन्त्री लिला गिरीले बचाउ गरेका थिए । वर्तमान मुख्यमन्त्री चेतनारायण आचार्यले भने ‘फोटोको विषयलाई ठूलो इस्यु नबनाऔँ’ भन्दै थामथुम पार्ने प्रयास गरेका थिए ।
उपाध्यक्ष विष्णु निकट कँडेल र महासचिव शंकर खेमाका रिजालबीच लामो समयदेखि आन्तरिक द्वन्द चलिरहेको छ । प्रदेश अधिवेशनदेखिको मनमुटाव चर्किंदै जाँदा पछिल्लो समय झन् बढेको छ । अध्यक्षमा कँडेलसँग पराजित हरिलाई शंकरकै जोडबलमा भूमि आयोगको अध्यक्ष नियुक्त गरिएको हो ।
टिप्पणीहरू