नेपाली दूतमाथि नेपालीलाई नहेरेको आरोप

गलत मान्छेलाई मुलुकको कूटनीतिक संयन्त्र सुम्पँदा अवस्था कुन हालतमा पुग्छ भन्ने उदाहरण पोल्याण्डको राजधानी वार्सा क्षेत्रका निम्ति नेपाली अवैतनिक वाणिज्यदूत (कन्सुलर) डा. बोधराज सुवेदी र उनका गतिविधिलाई हेरे पुग्छ । पछिल्लो सन्दर्भ १७, जनवरी २०२५ को हो ।
जर्मनीको बर्लिनस्थित नेपाली राजदूतावासले सामाजिक सञ्जालमा रोजगारीका लागि जर्मनी, पोल्याण्ड आउन प्रलोभन देखाउँदै ठगी गर्नेहरुवारे प्रमाणसहित उजुरी दिन जरुरी सूचना प्रकाशित गरेको थियो । सुवेदीले दूतावासको सूचना कन्सुलर र आफ्नो व्यक्तिगत आधिकारिक फेसबुक पेजमा सेयर गरे । सूचना सेयरसँगै पीडितहरूलाई आफ्नो कन्सुलर कार्यालयमार्फत् बर्लिनस्थित नेपाली राजदूतावासमा उजुर हाल्न अनुरोध गरे । उनले गोपनीयता र गुनासो सम्बन्धित निकायमा पुर्याउने ग्यारेन्टीसमेत दिएका थिए ।
उनको पोष्टमा टिप्पणी गर्दै थापा सूर्य नामक रास्वपा समर्थित फेसबुक प्रयोगकर्ताले ‘कन्सुलर साहेबलाई नै मानव तस्करको आरोप छ,त्यसबारे दूतावासले पहिले छानबिन गरोस् ।" भनेर लेखिदिए । उनले पासपोर्ट नवीकरण गर्दा ७५ ज्वलोटी (पोल्याण्ड मुद्रा) लिएर रकम हिनामिना गरेको आरोप पनि लगाए । "कन्सुलरले पासपोर्ट नवीकरण गर्दा ७५ र एनआरएनएले गर्दा ४० ज्वलोटी लाग्ने ? अनि कन्सुलर किन चाहियो ?’,उनको प्रश्न थियो ।
‘कन्सुलरज्यूले आफ्नो फेसबुकमा आफ्नो कमेन्ट डिलेट गर्नुभएछ,कृपया यता नगर्नु होला,सक्नुहुन्छ भने रिप्लाई दिनु,’
फेसबुक प्रयोगकर्ता थापाको उक्त कमेन्टलाई कन्सुलर सुवेदीले आफ्नो व्यक्तिगत पेजबाट हतार हतार डिलिट गरी पुनः कमेन्ट गर्न नमिल्ने बनाएका छन् । त्यसपछि पनि थापा रोकिएनन् र वाणिज्य दूतावासको अफिसियल फेसबुक पेजमा पुनः त्यही कमेन्ट गरेका छन् । ‘कन्सुलरज्यूले आफ्नो फेसबुकमा आफ्नो कमेन्ट डिलेट गर्नुभएछ,कृपया यता नगर्नु होला,सक्नुहुन्छ भने रिप्लाई दिनु,’ भन्ने उनको आग्रह छ ।
तर उनलाई सम्पर्क गर्न खोज्दा सम्पर्क हुन सकेको छैन । कन्सुलरको आधिकारिक फेसबुक पेजमा प्रयोगकर्ता थापाले चार दिनअघि गरेको टिप्पणी यथावत छ ।
‘बिचरा कन्सुलर साहेबसँग नैतिक बल नै छैन । उहाँले राम्रै कुरा गरे पनि लागेका संगीन आरोपको कारण त्यसले उहाँलाई जीवनभर नै खेदिरहन्छ । तसर्थ उहाँले राष्ट्रकै कूटनीतिक संयन्त्रको नेतृत्व गर्न सक्नु हुन्न । उहाँले कन्सुलरको जिम्मेवारी स्वेच्छिक रुपमा छोड्दा राम्रो । यस्तो अपमान सहेर बस्नु भन्दा’, एनआरएनए पोल्याण्डका एक पदाधिकारीले जनआस्थासँग भने ।
सुवेदीलाई कन्सुलर नबनाउन नेपाली काँग्रेसको भ्रातृ संगठन जनसम्पर्क समिति पोल्याण्डका सभापति नारायण चालिसेले त्हाँका नेपाली संघसंस्थाको तर्फबाट परराष्ट्र मन्त्रालय र काँग्रस केन्द्रीय कार्यालयमा २०७९ फागुन ४ गते उजुरी नै दर्ता गराएका थिए । तर उच्च राजनीतिक पहुँचका कारण तत्कालीन शेरबहादुर देउवाको सरकारले उनलाई वार्सा क्षेत्रका लागि कन्सुलर नियुक्त गरी छाड्यो ।
कन्सुलर सुवेदीलाई एनआरएनए मानव ओसारपसारको आरोपदेखि त्यहाँका नेपालीको राहदानी नवीकरणमा अतिरिक्त शुल्क लिएर रकम असुलेको आरोप लाग्दै आएको छ । उनलाई पदमुक्त गर्नैपर्ने ब्यहोरा उल्लेख गरिएको निवेदन परराष्ट्र मन्त्रालय तथा प्रतिनिधि सभाअन्तर्गत अन्तर्राष्ट्रिय तथा पर्यटन समितिमा विचाराधीन रहेको बुझिको छ ।
टिप्पणीहरू