इतिहास बोकेको लोकबाजा पलायनको डिलमा
लोकबाजा नेपाली सांस्कृतिक धरोहराको महत्वपूर्ण अंग हो । मादल, सारङ्गी, टुङ्ना, डम्फुजस्ता नेपाली बाजाहरुले नेपाली संस्कृतिको अस्तित्व र जातीय पहिचानको संरक्षण गरेको छ । लोकबाजाहरु इतिहास् हुन्, जुन हाम्रा पुर्खाले आफ्नो परम्पराअनुसार बजाए ।
साँच्चिकै भन्नुपर्दा लोकबाजाले नेपाली ढुकढुकी बोल्छ । फुकेर, रेटेर, ठटाएर वा पिटेर बजाइने लोकबाजाले राष्ट्रिय पहिचान पनि गराउँछ । विडम्बना, बदलिँदो समय र आधुनिक प्रविधिको विकासले इतिहास बोकेको लोकबाजा पछिल्लो समय पलायन हुने डर बढेको छ ।
यसैले लोकबाजाको संरक्षण गरेर नेपाली संस्कृतिको जगेर्ना गर्न यसका संरक्षकहरु लागिपरेका छन् । काठमाडौंको त्रिपुरेश्वरस्थित नेपाली लोकबाजा संग्रहालयका अध्यक्ष रामप्रसाद कँडेल नेपाली संस्कृतिको संरक्षण गर्न २०५८ सालदेखि नै लोकबाजासम्बन्धी प्रशिक्षण दिइरहेको बताउँछन् ।
उनी भन्छन्, ‘नयाँ पुस्तामा पनि योसम्बन्धी ज्ञान र सिप होस् भनेर हामीले ०५८ सालदेखि नै प्रशिक्षण दिने काम गरिरहेका छौं । साथै, पुराना बाजाहरु पनि पुनःनिर्माण गरेर नेपाली संस्कृतिको संरक्षण गर्न हामी लागिपरेका छौं ।’
कतिपय बाजा लोभ भइसकेको उल्लेख गर्दै कँडेलले मन्दिरमा भएका मूर्ति र धार्मिक किताबमा लेखिएका चित्रका आधारमा बाजाहरु बनाइरहेको बताए । उनका अनुसार कतिपय बाजा उपचारका बखतसमेत काम लाग्छ । जसलाई मेडिकल भाषामा ‘हिलिङ्ग’ पनि भनिन्छ ।
पहिले समाजमा महिलाहरुले बाजा बजाउन नहुने मान्यता रहेपनि अहिले पञ्चेबाजा बजाउने महिलाहरुको संख्या बढ्दो क्रममा रहेको उनको भनाइ छ । संग्रहालयमा झण्डै साढे ६ सय लोकबाजा संरक्षण गरेर राखिएको छ ।
अध्यक्ष कँडेल लोकबाजा संरक्षणमा सरकारसहित नयाँ पिढीहरु जुट्न आवश्यक रहेको बताउँछन् । लोकबाजा बाजा मात्र नभई नेपाली संस्कृतिको इतिहास र अस्तित्व रहेको नयाँ पुस्ताले मनन गर्न जरुरी गर्न उनको ठहर छ ।
टिप्पणीहरू