छेलोखेलो पानी

छेलोखेलो पानी

मेलम्चीको पाइप फुटेर काठमाडौँको बबरमहल जलमग्न भएपछि स्थानीय बासिन्दा आक्रोशित भए । किनभने पाइप फुटेर बगेको पानी मान्छेको घर घरमै बगेको थियो । घरमा पानी बगेर आएपछि स्थानीयवासी आक्रोशित हुने नै भए । 

त्यसो त मेलम्चीको पानी ल्याएकै जनताको घर घरमा पुर्‍याउनलाई हो । घरमा पानी आएन भनेर जनताले सधैँ गुनासो गरिरहन्थे । त्यसैले मेलम्ची ल्याइयो । अहिले मेलम्चीको पानी घर घरमा पुग्दा पनि जनता गुनासो नै गरिरहेका छन् । मेलम्ची आएपछि काठमाडौँमा पानीको छेलोखेलो हुन्छ त भनिएकै थियो । अझ पूर्व प्रधानमन्त्री कृष्णप्रसाद भट्टराईले त मेलम्चीको पानी आएपछि त्यही पानीले काठमाडौँको सडक धोइदिन्छु भन्नुभएको थियो । अब पानीको छेलोखेलो भनेको यही त हो नि ।

धाराबाट आएको छ, सडकबाट पनि आएको छ, पाइप फुटेर आएको छ, नफुटेर आएको छ । आएको छ, आएको छ । छेलोखेलो भनेपछि त अझै आउन पुगेको छैन कि क्या हो बरु । अब सडक धुने भनेपछि त सडकबाटै पानी आउनुपर्‍यो । धारामा आएर त धोइँदैन । सडकमै आउनुपर्‍यो । आएको वास्तवमा त्यही हो । सरकार यति बेला आफूले पहिले दिएको बचन पूरा गर्दैछन् । एकातिर सरकारले आफ्नो बचन पूरा गरेन भन्ने, अनि बचन पूरा गर्दा आलोचना पनि गर्ने हो भने काम कसरी हुन्छ ?

टिप्पणीहरू