कर्मचारी माग्दै मेयरले बुझाए सिडिओलाई चाबी

कर्मचारी माग्दै मेयरले बुझाए सिडिओलाई चाबी

महोत्तरीको भंगाहा नगरपालिकाका मेयर सञ्जिवकुमार साहले आफ्नो कार्यालयको तालाचाबी जिल्ला प्रशासन कार्यालयमा बुझाएका छन् ।  

डेढ महिनादेखि प्रमुख प्रशासकीय अधिकृतविहीन हुँदासमेत संघीय सरकारले वेवास्ता गरेको गुनासो गर्दै आएका उनले आज दबाबस्वरूप सिडिओ कार्यालयलाई साँचो सुम्पिएका हुन् । प्रमुख जिल्ला अधिकारी लालबाबु कवारीलाई भेटेर नगरपालिका र सबै वडा कार्यालयको चावी हस्तान्तरण गरेको मेयर साहले जानकारी दिए । 

प्रशासकीय अधिकृत नहुँदा काम ठप्प भएको उनको दु:खेसो छ । सामान्य प्रशासनमन्त्री राजकुमार गुप्तालाई भेटेर बिन्ति गर्दासमेत वास्ता नगरेको भन्दै मेयरले चित्त दु:खाएका छन् । 

‘मैले काठमाडौँमै आएर तीन चार पटक मन्त्रीज्यूलाई भेट्ने प्रयास गरेँ, बल्ल-बल्ल एक चोटी समय दिनुभयो पाँच मिनेट’, उनले जनआस्थासँग भने, ‘मैले जसरी पनि एक जना अधिकृत पठाइदिनुपर्यो भनेर अनुरोध गरेँ, उहाँले हुन्छ हुन्छ त भन्नुभयो, तर अहिलेसम्म भएको छैन ।’

साताअघि काठमाडौँ आएको बेला पुनः मन्त्रालयमा गएर कुरा गर्न खोजेको तर, मन्त्री गुप्ताले समय नदिएको पनि उनले सुनाए ।

‘भन्नु पनि कति पटक भन्नु र, हार मानिसकेँ । एक हप्ताअघि पनि मन्त्रालयमा गएर कुरा गर्न खोजे, तर मन्त्रीज्यूलाई कुरा सुन्ने फुर्सद नै रहेनछ', मेयर साहले दु:ख बिसाए, 'त्यसैले सचिवलाई अधिकृत नआउँदासम्म अब कार्यालय बन्द हुन्छ भन्ने जानकारी दिएर आएँ ।' 

प्रजिअ कवारीले समेत आज कार्यालयको चावी बुझ्नुअघि मन्त्रालयलाई विभिन्न अधिकारीलाई फोन गरेको तर नउठेको मेयर साहले जानकारी दिए ।

खुलाउँदै भने, ‘प्रजिअ सापले पनि आज मेरै अघि मन्त्रालयको सचिवलाई फोन गर्नु भयो, उठेन । पत्र महाशाखाको अधिकृतलाई फोन गर्नुभयो, उठेन । मन्त्रालयमा न मन्त्रीलाई वास्ता छ, न कर्मचारीलाई । अनि हामीले यहाँ कार्यालयको ढोका खोलेर मात्र के गर्ने ? त्यसैले चावी बुझाएको हुँ ।’

टिप्पणीहरू