बेलुनकाण्डको रहस्य

बेलुनकाण्डको रहस्य

पोखराको बेलुन काण्डको छानबिनलाई सरकारले तीव्र रुपमा अघि बढाएको छ । यस क्रममा हालै मात्र बेलुनमा हावा भर्ने एक मजदुर पक्राउ परेका छन् । बेलुन काण्डलाई सरकारले अत्यन्त गम्भीर रुपमा लिएको छ । लिनु पनि पर्दछ । किनभने यो काण्डमा परेर देशको अर्थमन्त्री जस्तो व्यक्ति घाइते हुनुभएको छ ।

यो सानोतिनो कुरा होइन । देशको अर्थतन्त्र त उसै पनि घाइते नै थियो । अब अर्थमन्त्रीसमेत घाइते हुनुभयो । अर्थतन्त्र र अर्थमन्त्री दुवै घाइते हुँदा देशको हालत के हुन्छ ? कसैले सोचेको छ ? त्यसैले पोखराको जो बेलुन काण्ड छ, त्यसको पछाडि देशको अर्थतन्त्रै ध्वस्त बनाउने ठूलो षडयन्त्र लुकेको हुनुपर्छ भन्ने हाम्रो ठहर छ । 

यस क्रममा प्रहरीले एक जना बेलुनवालालाई पक्राउ गरेको छ । हामीलाई आशा छ, यो खतरनाक षडयन्त्रको पर्दाफास अब उनै बेलुनवालामार्फत् हुनेछ । बेलुनवाला भारतीय नागरिक हुन् । हामीलाई थाहा भएकै कुरा हो, हाम्रो अर्थतन्त्र ध्वस्त बनाउन भारत पनि लागिपरेको छ । भारतले गरेको नाकाबन्दी नै यसको उदाहरण हो । अब हामीले पत्ता लगाउनुपर्ने छ, पोखरामा उक्त दिन पड्केको बेलुनमा भारतले के घुसाएको थियो ? बेलुन उडाउन त्यसमा ग्यास हाल्नुपर्छ । तर उक्त दिन बेलुनमा उड्ने ग्यासको सट्टा पड्कने ग्यास कसले हाल्यो ? हुन त बेलुनमा हावा मात्रै भरेर पनि फुक्न सकिन्छ ।

उक्त दिन बेलुनमा हाल्ने हावा साटिएको पो थियो कि ? अब हावै साट्ने भनेपछि यो सानोतिनो कुरा भएन । गम्भीरै कुरा हो । अब बेलुनवालालाई सोध्नुपर्छ– उसले यो हावा कहाँ साँटेर ल्याएको थियो ? घटना हावासँग सम्बन्धित भए पनि अनुसन्धानलाई चाहिँ हावा बनाउनु भएन । है ? 
 

टिप्पणीहरू