कसले हेर्ने सेनाका यस्ता काण्ड ?

कसले हेर्ने सेनाका यस्ता काण्ड ?

झण्डै एक खर्वको कल्याणकारी कोष रहेको नेपाली सेनाभित्र कुन स्तरको भ्रष्टाचार हुन्छ भनेर धेरैले अनुमानसम्म पनि गर्दैनन् । भनिन्छ, ‘त्यहाँ ठूला हाकिमहरुले थाहै नपाई ‘बिग सट’ हान्छन् । तर तल्ला तहका कर्मचारीहरूले भने सुँघ्नसमेत भ्याउँदैनन्, पाउँदैनन् ।’ पछिल्लो घटनामा भने अपवाद देखापरेको छ । जसमा पोखराको प्लटिङमा मुछिएर कुमार केसी जर्नेल अमेरिकातिर भागेझैं कल्याणकारी कोषको लगभग ६/७ करोड रुपैयाँ चप्काएर एकजना मेजर बेलायततिर भास्सिएका छन् । नाम हो, मेजर समीर गुरूङ । स्रोत भन्छ, खान पल्किएका उनी यदि कतै बाहिर सरुवा भइहाले भने तुरुन्तै जे जसरी भए पनि मिलाएर त्यहीं फर्कन्थे । अरुको भागसमेत आफै चप्काएपछि मात्र यो घटना सार्वजनिक भएको हो । यसरी रकम हिनामिना गरेर भाग्ने मेजरकी पत्नी पनि सिंहदरबारस्थित नरसिंह दलकी मेजर मन कुमारी थेबे हुन् । पिताचाहिँ केही वर्षअघि सैनिक अस्पतालबाट भूपू भइसकेका छन् । 

प्रायः जंगीअड्डामा यस्ता घटना भित्रभित्रै तैं चुप मैचुपको अवस्थामा राखिन्छ । यस्तै एउटा प्रकरणमा डेढ वर्षअगाडि मर्मत गर्न भनेर सेनाको एउटा हेलिकप्टर र त्यसको  लागि आवश्यक रकमसमेत भारत पठाइएको थियो । प्रक्रिया नमिलाईकन पठाइएको हेलिकप्टर बनेर फर्कने ठेगान छैन । न त पठाइएको रकम नै फिर्ता हुने अवस्था छ । तर यसरी मुलुकलाई ठूलै नोक्सान हुनेगरी अव्यवस्थित ढंगले काम गर्ने व्यक्तिलाई कारबाही गर्ने दिशातर्फ भने कोही अग्रसर भएको पाइन्न । समाचार स्रोतका अनुसार हाल परराष्ट्रमन्त्री रहेकी आरजु राणाको समेत जानकारी र भनसुनमा भएको सो घटनामा चासो देखाउने हिम्मत अहिले उनी आफैं सत्तारुढ रहेका कारण कोहीसँग छैन । अघिल्लो सेनापतिकै पालामा भएको सो घटनाको छानबिन गर्न वास्तवमा कसैलाई गाह्रो नपर्नुपर्ने हो । तर, बडो सकस परिरहेको छ । 

स्रोत भन्छ– यसरी सेनाको हेलिकप्टर र पौने अर्ब रकम विदेश चप्काउने बिचौलिया भने प्रशान्त राणा हुन् । यसमा सक्रिय ढंगले संलग्न हाकिम आशिषनरसिंह राणा थिए । उनी दुवैवटा मृगौलामा समस्या देखिएपछि गत हप्ता छाउनी अस्पतालबाट घर फर्केर आराम गरिरहेका छन् । नेपाली सेनाको पाइलट रहेका उनकै हस्ताक्षरमा एनए ५६ कल साइन रहेको सो हेलिकप्टर ट्रकमा हालेर मुम्बईको बन्दरगाहमा घाम तपाउन पठाउने काम भएको थियो । लगत्तै यसरी नै भारत पठाउन ठिक्क पारिएको एनए ५७ कल साइनको हेलिकप्टर भने अहिले यतै रोकिएको छ । 

नेपाली सेनाको लागि इण्डोनेशियाबाट कासा जहाज किन्दाको प्रकरण पनि निकै रोचक छ । कांग्रेसको सरकार रहेका बेला सबै चाँजोपाँजो मिलाइएको थियो । जर्नेल भरत केशरीका छोरा अजय सिंह त्यसको एजेन्ट थिए । हेलिकप्टर भने त्यसबेला भित्रियो जुनबेला केपी ओली प्रधानमन्त्री थिए र स्वास्थ्य परीक्षणको लागि सिंगापुरमा रहँदा उतैबाट रक्षा मन्त्रीलाई के भएको ? त्यसमा कसले गोजी भर्‍यो ? भन्ने जस्ता प्रश्न सोधेर हैरान पारिरहन्थे । संयोगवश अहिले पनि उनै प्रधानमन्त्री छन् र रक्षामन्त्रीसमेत एमाले कार्यकर्ता नै छन् । तैपनि यति ठूलो राष्ट्रघातमा ती केही बोल्दैनन् । तराईमा हावाहुरीका कारण भत्किएका घर मर्मत, कोभिड कालको होल्डिङ सेन्टर स्थापना, चुनाव, भूकम्पको रकम परिचालनमा संलग्न शरद गिरी, भुवन अधिकारीको सम्पत्ति कसले छानविन गर्ने ? अनेकौं काण्डका दोषीलाई कसले समात्ने ? अनि ग्रे लिष्टमा परियो भनेर किन चित्त दुखाउने ?

टिप्पणीहरू