खड्ग समशेरको जन्मदिन

खड्ग समशेरको जन्मदिन

महाराज खड्ग समशेर जबराको जन्मदिन भर्खरै सम्पन्न भयो (भर्खरै मात्र हाम्रा प्रिय प्रधानमन्त्री खड्गप्रसाद ओलीको पनि जन्मदिन मनाइएको छ । खड्ग समशेर जबराको जन्मदिन र खड्गप्रसाद ओलीको जन्मदिन एकैदिन पर्न जानुचाहिँ संयोग मात्रै हो) । खड्ग समशेर मान्छे सामान्य नै भए पनि भित्रभित्र बहुतै सामन्ती सोच रहेछ । 

आफ्नो जन्मदिनमा प्रजागणले पनि अलिकति मनोरञ्जन गरून्, खड्ग समशेर यही चाहन्थे । त्यसैले आफ्नो जन्मदिनमा एउटा फुटबल प्रतियोगिता आयोजना गरे । यो प्रतियोगिता देखेर कसैलाई उपन्यासकार दौलतविक्रम बिष्टको ‘खेल’ कथा याद आएको हुनुपर्छ । 

खड्ग समशेरका अनुयायीहरू चाहन्थे कि यो जन्मदिनमा हेलिकप्टरबाट पुष्प वर्षा गराऊँ । जस्तो कि पहिला पहिला राजा खलकको जन्मदिनमा गरिन्थ्यो । तर खड्ग समशेर राजा भइहालेका छैनन् । हुने क्रममा मात्रै छन् । त्यसैले हेलिकप्टरबाट होइन हेलिकप्टर जस्तै आकार भएको ड्रोनमार्फत पुष्प बृष्टि गराइयो ।

ड्रोनमार्फतै भए पनि पुष्प वर्षाका कारण यो जन्मदिन पूरा राजकीय नै देखियो । पहिले पहिले त नेपालकै नक्सा भएको केक काटिन्थ्यो । यस पाली अर्कै वस्तुवाला केक काटियो । जे होस्, यसले पनि जन्मदिन भव्य देखियो । महाराजलाई जन्मदिनको हार्दिक शुभकामना ! 
 

टिप्पणीहरू