मुलुकमा विदेशी कागजको खपत रोक्ने आईएमई ग्रुपको लक्ष्य
नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकाल नेतृत्वको आईएमई ग्रुपले कागज उद्योग सञ्चालनमा ल्याएको छ । महोत्तरीको गौशाला नगरपालिका–१, रामनगरमा ग्रुपले ‘नेपाल पल्प एण्ड पेपर इण्डष्ट्रिज’ स्थापना गरेको छ । दुई अर्ब रुपैयाँ लगानीमा उद्योग खोलिएको ग्रुपले जनाएको छ ।
उद्योगले लेखन तथा छपाईका लागि दैनिक ७५ मेट्रिक टन कागज उत्पादन गर्ने लक्ष्य लिएको जनाएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले उद्घाटन गर्नुभएको उद्योगले पहिलो चरणमा फोटोकपी पेपर र कापी–किताबका लागि प्रयोग हुने कागज उत्पादन थालेको छ ।
उद्योगले प्रत्यक्ष रुपमा तीन सयभन्दा बढी र अप्रत्यक्ष रुपमा हजारौंलाई रोजगारी दिएको ग्रुपले जानकारी दिएको छ । उद्योगमा काम गर्ने अधिकांश कामदार त्यहीँका स्थानीय हुन् ।
ग्रुपका अध्यक्ष ढकालले उद्योगले विश्व बजारबाट आयात हुने कागजलाई स्वदेशी उत्पादनले प्रतिस्थापन गर्नेमा आफू विश्वस्त रहेको बताए । उनले भने,‘विश्व बजारबाट ठूलो परिमाणमा कागज आयात हुँदै आइरहेको छ । तर, अब त्यो अवस्था रहँदैन । आफ्नै देशभित्र उत्पादन भएको कागज प्रयोगले स्वदेशी उत्पादनमा आत्मनिर्भर बनाउनुका साथै व्यापार घाटा सन्तुलनमा योगदान पुर्याउँछ ।’
त्यसैगरी, नयाँ–नयाँ उद्योग स्थापना गरेर युवा जनशक्तिलाई विदेशिनबाट रोक्न ग्रुप तत्पर रहेको उनको भनाइ छ ।
टिप्पणीहरू