जनआस्थाका पत्रकारको रहश्यमय मृत्यु,शंकास्पद एक पक्राउ

जनआस्थाका पत्रकारको रहश्यमय मृत्यु,शंकास्पद एक पक्राउ

इन्द्रै बिन्ती गरून् झुकेर पदमा,त्यो बिन्ति मान्दैन त्यो,
आयो टप्प टिप्यो,लग्यो मिति पुग्यो,टारेर टर्दैन त्यो ।

जन्म र मृत्यु जीवनका शाश्वत सत्य हुन् । जन्मपछि मनुष्यको मृत्यु अवश्यम्भावी छ । मृत्युलाई कसैले चाहेर पनि टार्न सकिंदैन । मानव जीवनको शाश्वत नियम स्वीकार गर्नुको विकल्प छैन । तर,कतिपय मृत्यु स्वीकार गर्न निकै कठिन हुन्छ । युवा पत्रकार अजय गोर्खालीको असामयिक निधन पनि त्यस्तै भएको छ । 

जनआस्थामा आवद्ध भएर लामो समयदेखि पत्रकारितामा सक्रिय गोर्खालीले सदाका लागि यो धर्ती छाडेका छन् । चितवनमा जन्मिएर हाल नवलपरासी (बर्दघाट–सुस्ता) को गैंडाकोट–५ बस्दै आएका उनको गत शनिबार अल्पायुमै निधन भएको हो । 

केही वर्षदेखि मानसिक तनावबाट गुज्रिँदै आएका उनी चितवनको शहीदगेटमा आफैंलाई चोट पुर्याइरहेको अवस्थामा फेला परेका थिए । जिल्ला प्रहरी कार्यालय चितवनका डिएसपी रवीन्द्र खनालका अनुसार स्थानीयले फोन गरेर घटनाबारे जानकारी गराएपछि तत्काल उद्धार गरेर उनलाई भरतपुर अस्पताल पुर्याइएको थियो । 

तर,त्यसको केहीबेरमै चिकित्सकले मृत घोषणा गरे । उनको स्वाभाविक निधन हो या लखेटेर कुटपिटबाट मृत्यु  भन्ने अहिलेसम्म खुलेको छैन । घटनामा संलग्नताको आशंकामा एक जनालाई पक्राऊ गरिएको र पोष्टमार्टम रिपोर्ट आएपछि यथार्थ खुल्ने चितवन प्रहरीले जनाएको छ । 

मृत्युको दुखद खबर बाहिरिएलगत्तै त्यहीँका पत्रकार सूर्य बरालले प्रहरीसङ्ग सोधखोज गर्दा र त्यसदिनको दुई वटा भिडियो फुटेज हेर्दा प्रकरण रहस्यमय पाइएको थियो । 
पुराना पत्रकार बाबु गोपाल परियार र आमा रिताको कोखबाट २०४४ माघ १७ गते चितवनमा जन्मिएका एक्ला छोरा गोर्खाली २२ वर्षदेखि पत्रकारितामा सक्रिय थिए । सामाजका बेथिति र विसंगतीविरुद्ध कलम चलाउने उनको भाषा छनौट र लेखनशैली तर्कशील र आकर्षक थियो । लामो समयदेखि जनआस्था डट कममासमेत चितवनबाट समाचार प्रेषित गर्दै आएका थिए । 

गोर्खालीको निधनसँगै नेपाली पत्रकारिता क्षेत्रले मोफसलमा रहेको एउटा लगनशील,कुशल र जुझारु पत्रकार गुमाएको छ । यसबाट  जनआस्था परिवार मर्माहत भएको छ । शोकको यस घडीमा गोर्खालीप्रति भावपूर्ण श्रध्दान्जली अर्पण गर्दै शोकसन्तप्त परिवारमा गहिरो समवेदना प्रकट गर्दछौँ ।  

गोर्खालीको भौतिक शरीर नरहे पनि पत्रकारितामा सहयात्री भएर पुर्याएको योगदान सदा स्मरण गरिरहने छौँ । हार्दिक श्रद्धासुमन । अलबिदा अजय  !

टिप्पणीहरू