कोकुनका भेराइटी थप्दै नेपाल सिल्क
16 shares
रेशम किराको कोकुनबाट उत्पादित लत्ताकपडाको माग देश–विदेशमा बढ्दो छ । माग बढिरहेको अवस्थामा शुरुमा यो पेशा अंगालेकाहरु भने अचेल पलायन भइरहेका छन् ।
उचित मूल्य नपाउँदा वा अनेकौं समस्याका कारण रेशम किराको खेती गर्ने किसानहरुले हार मान्दा काठमाडौंस्थित नेपाल सिल्कले यसको संरक्षणका निम्ति निरन्तर काम गरिरहेको छ । डेढ दशकअघि स्थापित सिल्कले रेशम किराको कोकुनबाट लत्ताकपडालगायत विभिन्न सामग्री उत्पादन गर्दै आइरहेको छ ।
सिल्कले कोकुनबाट सामग्री उत्पादन गरेर स्वदेशी वस्तुको विदेशमा माग मात्र नबढाई रेशम किराको खेतीमा संलग्न किसानहरुको संरक्षण पनि गरिरहेको छ । सिल्ककी सहसंस्थापक गीता श्रेष्ठ झण्डै एक सय किसानसँग आबद्ध रहेर यो काम गरिरहेको बताउँछिन् ।
स्वदेशी वस्तुको प्रवद्र्धन र महिलालाई रोजगारी प्रदान गर्न सिल्कको स्थापना गरिएको जनाउँदै उनले अहिले सो उद्देश्य पूरा भएकोमा खुशी व्यक्त गरिन् ।
उनी भन्छिन्, ‘सिल्क स्थापनाको एउटै उद्देश्य थियो, महिलालाई रोजगारी प्रदान गर्नु र हाम्रो स्वदेशी वस्तुको प्रवद्र्धन । जुन उद्देश्य हामीले पूरा पनि गरेका छौं ।’ उनका अनुसार अहिले सिल्कबाट उत्पादित वस्तुहरुको माग विदेशमासमेत बढ्दो छ ।
‘हातले नै बनाएको भनेपछि विदेशीहरुले पनि यसलाई रुचाएका छन् । हामीबाट उत्पादित सामग्रीको माग विदेशमा बढ्दो छ,’ श्रेष्ठले भनिन् । कोकुनबाट सलसहित साडी, कुर्थालगायत कपडाहरु बनाउने गरिएको छ ।
योसँगै खेर जाने कोकुनलाईसमेत व्यवस्थित रुपमा सिल्कले बिक्री गर्दै आएको छ । श्रेष्ठले थपिन्, ‘धागोका रुपमा ल्याउन नसकिने कोकुनलाई हामीले बायोप्रोडक्स भनेर कोकुन स्क्रबरका रुपमा बेच्छौं । सँगै यसबाट साबुन, चिया पनि बनाउने गरेका छौं ।’
16 shares
टिप्पणीहरू