अगुवाले नै यस्तरी अलपत्र पारेपछि...

म्याग्दीको बेनी नगरपालिका–४ सिंगामा सञ्चालित हरियाली ग्रुपबाट राष्ट्रिय योजना आयोगका पूर्वउपाध्यक्ष डा.मीनबहादुर श्रेष्ठको समूह बाहिरिँदा सरकारी स्वामित्वको राष्ट्रिय वाणिज्य बैंकको करोडौं रुपैयाँ डुब्ने भएको छ । माओवादीका मीनबहादुरको पहुँच हेरेर बैंकले गरेको पाँच करोड रुपैयाँ कर्जा लगानी डुब्ने संकेत देखिएको हो । उनको समूह सट्याकसुटुक ग्रुपबाट बाहिरिइसकेको छ भने ग्रुप घाटामा सञ्चालन भइरहेको छ ।
सामूहिक खेती प्रणालीलाई प्रभावकारी बनाउने भनी झण्डै ६ वर्षअगाडि मीनबहादुरको आइडियामा हरियाली ग्रुप स्थापना गरियो । उनले स्थानीयलाई शेयर सदस्य बनाए । सयौं रोपनी जग्गा भाडामा लिएर भौतिक संरचना बनाइयो । त्यही संरचना देखाएर वाणिज्य बैंकको बेनी शाखाबाट निब्र्याजी ऋण निकाले ।
ऋण लिँदा धितोसमेत नराखिएको स्रोतको दाबी छ । ग्रुपको अध्यक्ष मीनबहादुरकी श्रीमती सुजाता श्रेष्ठ भइन् । उनी भने सल्लाहकार बसे । ग्रुपले कालिज, कुखुरा, माछा, मौरीपालन गर्दै आएको थियो । त्यसैगरी, तरकारी, पुष्प र डाले घाँसखेती पनि गरियो । ग्रुपको आफ्नै रेष्टुरेण्ट थियो । कृषि क्षेत्रलाई उचाइमा पुर्याउने लक्ष्यका साथ स्थापना गरिएको ग्रुप केही समयमै बन्द हुने अवस्थामा पुगेको छ ।
करोडौँ ऋण लिएको ग्रुपले आजसम्म बैंकलाई एकपटक पनि किस्ता नतिरेको पाइएको छ । पाँच वर्षको अवधिका लागि ल्याइएको ऋणको म्याद सकिइसकेको छ । वर्तमान सञ्चालक समिति भने ऋणको म्याद थपका लागि दौडधुप गरिरहेको छ । बैंकका ब्राञ्च म्यानेजर नवराज ढुंगानाले ग्रुपबाट एक किस्ता पनि नआएको बताए ।
उनका अनुसार ग्रुपले ऋणको ब्याज भने निरन्तर तिरिरहेको छ । किस्ता नतिरेपछि उनीहरूले पाउने कृषि अनुदान कटौती गरिएको ढुंगानाले जानकारी दिए । जनआस्थासँग भने, ‘उहाँहरूले यहाँबाट ठूलो रकम ऋण लिनुभएको छ । तर, एकपटक पनि किस्ता तिर्नुभएको छैन । एक किस्ता नतिर्नेबित्तिकै अनुदान कटौती गरिएको छ ।’
ग्रुप डुबेपछि मीनबहादुरकी श्रीमती सुजाता कसैले सुइँको नपाउनेगरी बाहिरिएकी छन् । चैतमा ग्रुप छोडेकी उनी सञ्चालक समितिमा पनि छैनन् । वर्तमान अध्यक्षमा स्थानीय शेरबहादुर केसी छन् । त्यसैगरी, सञ्चालक समिति सदस्यमा गोविन्दप्रसाद पौडेल, दुर्गाबहादुर थापा, देवीप्रसाद पौडेल, धनलाल जैसी, तेजप्रकाश पुन र मनप्रसाद कँडेल रहेका छन् । सल्लाहकार समितिमा डा.टीकाबहादुर कार्की र मदन थापालाई राखिएको छ ।
सुजाता अध्यक्ष हुँदै डामाडोल बनेको ग्रुप अहिले बन्द हुने अवस्थामा पुगेको छ । केही महिनाअघि सो ग्रुपको सम्पत्ति तथा दायित्व मूल्यांकन (डिडिए) गरिएको थियो । तर, प्रतिवेदन भने सार्वजनिक गरिएको छैन । ग्रुपको मूल्यांकन १० प्रतिशत मात्र भएपछि प्रतिवेदन लुकाइएको स्रोतको दाबी छ । बैंकको करोडौं लगानी र दर्जनौं स्थानीय शेयरधनी रहेको ग्रुपको मूल्यांकन १० प्रतिशतमा झर्नु डुब्नुको संकेत भएको स्रोत बताउँछ ।
‘केही समयअगाडि ग्रुपको डिडिए गरिएको छ । डिडिएले मूल्यांकन १० प्रतिशत गरेको छ । एक सय प्रतिशत लगानी गरेको क्षेत्रको भ्यालुएसन १० प्रतिशतमा आयो भने त्यसको अर्थ डुब्नु होइन ? ग्रुप चलाउन भिजन नै भएन । साग र गोलभेंडा बेचेर करोडौं रकम तिर्न सकिन्छ ? पब्लिक सोत्तर हुने भए’, स्रोतले भन्यो । ग्रुपको वर्तमान सञ्चालक समितिले घाटामा गएको संस्था अरुलाई भिडाएर त्यहाँबाट निस्किने चलखेल गरिरहेको बताइन्छ । जतिसक्दो छिटो बाहिरिने सुरमा रहेको समितिले खरिदकर्ता नभेटेको बुझिएको छ ।
हरियाली ग्रुपमा करिब पाँच दर्जन स्थानीय शेयरधनी छन् । विवाद बढ्दै गएको छ । कुनै शेयरधनी ग्रुप चलाउने त कुनै नचलाउने भनिरहेका छन् । हाल ग्रुप घाटामा चलिरहेको म्यानेजर सूर्य लामा बताउँछन् । ग्रुप बेच्न खोजिरहेको उनले जानकारी दिए ।
‘शेयरधनी ५०–६० जना छन् । कोही चलाउने भन्छन् त कोही नचलाउने । धेरै शेयरधनी हुँदा मिलाउनै गाह्रो पर्ने रहेछ । ग्रुप घाटामा चलिरहेको छ । अनुदानका लागि बैंकसँग प्रयास गरेको गर्यै छौं तर दिएका छैनन् । त्यसैले ग्रुप बेच्न खोजेका हौं । १२ करोड आसपास मूल्य तोकिएको छ, फागुनभित्र बेचिसक्ने तयारी छ’, उनले भने ।
ग्रुपले अहिले आलु खेती गरेको छ । कुखुरा, कालिज, माछा भए पनि बिक्री नभएको लामाको गुनासो छ । पुराना म्यानेजरले जागिर छोडेपछि उनको पदमा ल्याइएका काभ्रेपलाञ्चोकका लामा डिडिएबारे जानकारी नभएको बताउँछन् । भन्छन्, ‘उत्पादन छ तर सामान बिक्री भएको छैन । अण्डा मात्र बिक्री भएर ग्रुप चलाउन सकिन्न । धेरै जमिनमा आलु खेती गरेका छौँ । त्यसबाट केही आम्दानी होला तर ग्रुपको पनि खर्च छ । कर्मचारीलाई तलब खुवाउनुपर्यो । रेष्टुरेण्टचाहिँ चलिरहेको छ ।’
तलब दिन नसकेपछि ग्रुपले कर्मचारी कटौती गरेको छ । झण्डै ४० जना कर्मचारी भएकोमा हटाएर सात–आठ जना राखिएको छ । उनीहरूलाई तलब खुवाउन पनि धौ–धौ छ । मंसिर २९ गतेको साधारणसभामा मीनबहादुर पनि सहभागी थिए । लामाका अनुसार उनकी श्रीमतीले बेलाबखत सम्पर्क गरेर जानकारी लिन्छिन् ।
बैंकका ब्राञ्च म्यानेजर ढुंगानाले भने ग्रुप बेच्न लागिएकोबारे कुनै जानकारी नभएको बताए । केही व्यक्ति निस्किने र केही थपिने सूचना मात्र आएको सुनाए । ‘फर्म बेच्न लागिएको विषयमा उहाँहरूले बैंकलाई कुनै जानकारी गराउनुभएको छैन । साधारण सभामा केही व्यक्ति थप्ने र केही निस्किने बताउनुभएको थियो । अरु विषयमा बैंकलाई केही जानकारी छैन, ’ उनले भने । यता, ग्रुपबाट बाहिरिएको विषयमा मीनबहादुरसँग जानकारी लिन खोज्दा सम्पर्क हुन सकेन ।
टिप्पणीहरू