संगितालाई जेले दियो सास्ती

एकातिर अंगीकृत नागरिक, अर्काेतिर बढुवामा किर्तेको आरोप । तिनै कर्मचारी बढुवामा छुटेपछि मन्त्रीको राजीनामा माग्न कस्सिएकी छन् । जसरी अंगीकृत नागरिकताधारी सरिता गिरीहरू मन्त्रीसम्म बने, उसरी नै प्रशासनिक उच्च तहमा पुग्ने डा. संगीता कौशल मिश्रको सपनामा ‘ब्रेक’ लागेसँगै अहिले विभागीय मन्त्रीको खोइरो खन्न थालेकी छन् ।
जनआस्थालाई प्राप्त कागजातअनुसार राहदानी नम्बर ००६५६४६ बाहक र नागरिकता नम्बर ०५६‑५७‑२६७ भएकी संगीता स्वास्थ्य मन्त्रालयमा छिन् । ०७० सालमा खुला प्रतिस्पर्धामार्फत एघारौं तहमा प्रवेश गर्दा अनुभवको किर्ते प्रमाण पेश गरेकी थिइन् । खुला प्रतिस्पर्धामार्फत स्वास्थ्य सेवा–अब्स्ट्रेटिक तथा गाइनोकोलोजीमा २०७० असोज १० गतेबाट सेवा प्रवेश गरेकी मिश्राले डकुमेन्ट ‘किर्ते’ गरेको उजुरी लोकसेवा आयोगसम्म पुगेको थियो । तैपनि ०७९ असारमा बाह्रौँ तह (प्रमुख विशेषज्ञ) मा बढुवा भइन् ।
संगीताले भारत झारखण्डस्थित राँचीमा हुर्केकी र प्रारम्भिकदेखि एमबिबिएससम्मको शिक्षा उतै हासिल गरेकी हुन् । श्रीमान् राकेश सिके राउतको जनमत पार्टीमा नेता छन् । बाह्रौँ तहमा खुला प्रतिस्पर्धा गर्न सात वर्ष काम गरेको अनुभव हुनुपर्ने प्रावधान छ । सोही कारण बढुवा धकेलिने भयो । एमबिबिएस गरेको ६ वर्षमै अमेरिका पढ्न गएकी उनले सो अवधिमा अर्को किर्ते काण्डमा मुछिएका माननीय डा. सुनील शर्माको विराटनगरस्थित नोबेल अस्पतालमा काम गरेको कागजात पेश गरेकी थिइन् । उनलाई यी कागजात संकलनमा सघाउने पात्र थिए, तत्कालीन स्वास्थ्यसचिव डा. प्रवीण मिश्र ।
उनीविरुद्धको उजुरी हाल मधेश प्रदेशको मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा प्रमुख सचिव रहेका मदन भुजेलले हेरेका थिए । उनै मिश्र र झापाली डा. टंक बराकोटीलाई पछि पार्दै मन्त्री परिषद्को बैठकले विकास देवकोटालाई सचिवमा बढुवा गरेको छ । नेपालको संविधानले अंगीकृत नागरिकता बोक्नेहरूलाई संवैधानिक निकाय, बिग ६ का अलावा मुख्यमन्त्री, सुरक्षा निकायको प्रमुख हुनबाट बन्देज लगाएको छ । सोही कारण आजसम्म यी र यस्ता पदमा बिदेशीहरू पुगेका छैनन् ।
टिप्पणीहरू