शैक्षिक सफलतामा किताबी ज्ञान मात्रै अपर्याप्त

शैक्षिक सफलतामा किताबी ज्ञान मात्रै अपर्याप्त
सुन्नुहोस्

विद्यार्थीले वर्षभरी गरेका गतिविधि उजागर गर्दै भक्तपुरको सल्लाघारीस्थित राजर्षि गुरुकुल विद्यालयले ‘ओपन हाउस’ कार्यक्रम सम्पन्न गरेको छ । 

विद्यार्थीमा अन्तर्निहित प्रतिभा प्रष्फुटन र उनीहरुको वौद्धिक विकासका निम्ति हरेक वर्ष विद्यालयले आयोजना गर्दै आएको ’ओपन हाउस’ मा यो वर्ष पनि विभिन्न कार्यक्रम गरिएको छ । विद्यालयको शैक्षिक गतिविधिसँगै विद्यार्थीले वर्षभरी गरेको अतिरिक्त क्रियाकलाप कार्यक्रममा समावेश गरिएको थियो ।

त्यसमध्ये कक्षा १ देखि ७ सम्मका विद्यार्थीले दिएको मस्तिष्कसम्बन्धी प्रस्तुति विशेष रहेको विद्यालयले जनाएको छ । विद्यार्थीहरुले शारीरिक तथा बौद्धिक खेलको प्रदर्शनसँगै मस्तिष्कको संरचना र कार्यप्रणालीबारे व्याख्या, स्नायु तन्तुको प्रदर्शन र यसको स्वस्थ्यता र आहारबारे जानकारी गराएका थिए । मानसिक तन्दुरुस्ती, स्मरण शक्ति, ध्यान केन्द्रित गर्ने क्षमतामा सुधार ल्याउने विभिन्न खेल तथा सिर्जनात्मक प्रस्तुति पनि उनीहरुले दिए । 

यसअन्तर्गत विद्यार्थीहरुले केही मिनेटमै रुबिक्स क्युब हल गर्दै आफ्नो विश्लेषणात्मक तथा समस्या समाधान क्षमताको प्रदर्शन गरे । विद्यालयका अनुसार अभिभावकलाईसमेत सहभागी गराई मेमोरी पावर जाँचको खेल खेलाइएको थियो । यस्तै, जटिल गणितीय समस्या चाँडै समाधान गर्ने दिमागी खेलसमेत उनीहरुले देखाए । 

विद्यार्थीहरुले मानव मस्तिष्क कसरी दृश्य भ्रमबाट प्रभावित हुन्छ ? भन्नेबारे प्रदर्शन गरी मानसिक शान्ति र ध्यान केन्द्रित गर्ने तरिका पनि सिकाएका थिए । कार्यक्रममा सहभागी काठमाडौं विश्वविद्यालयका शिक्षा संकायका एसोसिएट डिन प्रोफेसर डा. हेमराज काफ्लेले शैक्षिक सफलताका लागि किताबी ज्ञान मात्र पर्याप्त नहुने उल्लेख गर्दै विद्यार्थीलाई तार्किक, रचनात्मक र व्यवहारिक ज्ञान दिन यस्ता गतिविधि अत्यन्त उपयोगी रहेको बताए । 

उनले भने, ‘मस्तिष्कसम्बन्धी यी प्रस्तुतीले विद्यार्थीमा अनुसन्धानमुखी सोच र सिर्जनाशीलता विकास गर्ने अवसर प्रदान गर्छ ।’ त्यस्तै, विद्यालयका संस्थापक अध्यक्ष राजेश चौधरीले मस्तिष्कसम्बन्धी क्रियाकलापको महत्त्व दर्शाउँदै भने, ‘हाम्रो उद्धेश्य विद्यार्थीलाई केबल किताबी ज्ञानमा सीमित नराखौं, उनीहरुको सिर्जनात्मकता, तार्किक क्षमता र व्यवहारिक ज्ञानलाई सशक्त पार्नु हो । यस्ता कार्यक्रमले विद्यार्थीको प्रतिभा उजागर गर्न मद्दत गर्छ ।’

आजको प्रतिस्पर्धात्मक युगमा परीक्षाको अंक मात्र पर्याप्त नरहेको भन्दै उनले विद्यार्थीले नवप्रवर्तन गर्नसक्ने क्षमताको विकासमा जोड दिए । 

कार्यक्रममा कक्षा १ देखि ९ सम्मका विद्यार्थीले विभिन्न किसिमका ड्रान्स, म्युजिक, कराँते, गल्फ, स्केटिङ आदिमा सहभागी भई आफ्नो कला देखाएका थिए । विद्यालयका अनुसार विज्ञान, प्रविधि, इन्जिनियरिङ तथा गणितसम्बन्धी परियोजनाको प्रदर्शनी, आरजीथ्रीडीआई प्रोग्राम, ड्युक अफ एडिनवर्ग, म्यान्डरिनजस्ता सिकाईका गतिविधि पनि गरिएको थियो ।

टिप्पणीहरू